Skip to content
logo
फागुन ५ गते २०८१ समयः

इलाम बजारको होटल रेडरोजमा रैथाने खाद्य परिकार प्रदर्शनी आयोजना गरिँदै

मेरो आर्थिक
मेरो आर्थिक
असार ११ गते २०८१
इलाम बजारको होटल रेडरोजमा रैथाने खाद्य परिकार प्रदर्शनी आयोजना गरिँदै

इलाममा आज अर्थात (मंगलबार) रैथाने खाद्य परिकार प्रदर्शनी आयोजना गरिँदैछ। इलाम बजारको होटल रेडरोजमा प्रदर्शनी आयोजना गर्न लागिएको जनाइएको हो । इलाम उद्योग वाणिज्य संघ र महिला उद्यमी संघ प्रदर्शनीका सहआयोजक छन् भने पर्यटन कार्यालय र इलाम नगरपालिका प्रवर्धकका रूपमा छन् ।

खानाका माध्यमबाट इलाममा पर्यटक आकर्षित गर्न आयोजित प्रदर्शनीमा रैथाने खानाका १५ स्टल रहने आयोजकले जनाएको छ । जिल्लाका विभिन्न क्षेत्रका व्यवसायीले प्रदर्शनीमा स्टल राख्नेछन् । इलामस्थित होटल व्यवसायी संघ र इलाम नगर पर्यटन प्रवर्धन समितिको आयोजनामा हुने प्रदर्शनीमा रैथाने खाना ढिँडो, गुन्द्रुक, मोही, चाम्रे, सोल्लर, मट्का मासु, दूधका परिकार, सेलरोटी, पोलेको आलु, नेवारी खाना, राई, लिम्बूलगायत विभिन्न जातजातिका सांस्कृतिक परिकार, भुटेको मकैलगायत रहनेछन् ।

होटल व्यवसायी संघ अध्यक्ष देवी पौडेलले इलाम आउने पर्यटकलाई रैथाने खानामा लोभ्याउन र प्रचार गर्न प्रदर्शन आयोजना गरिएको बताए । ‘इलाम प्राकृतिक रूपमा सुन्दर छ, अझ यहाँको कला–संस्कृति र परम्परा पर्यटक पल्काउने काइदा हुन्,’ उनले भने, ‘तर, यहाँ आउने पर्यटकलाई रैथाने खानामा पल्काउन आवश्यक भएकाले प्रदर्शनी आयोजना गरिएको हो ।’

प्रदर्शनीमा चार सयभन्दा धेरै आगन्तुक सहभागी हुने आशा आयोजकको छ । ‘अहिले पर्यटकको चाप अलि कम हुने सिजन हो तर प्रदर्शनीले पर्यटक लोभ्याउने आशा छ,’ होटल व्यवसायी प्रकाश चापागाईंले भने, ‘इलामका होटलमा पाहुनालाई रैथाने खाना खुवाउनुपर्छ भन्नेबारे पनि प्रचार गर्न लागिएको हो ।’ प्रदर्शनीमा आउनेले दर्जनौं प्रकारका रैथाने खानाको स्वाद चाख्न पाउने आयोजकले जनाएको छ ।

Add a new comment