Skip to content
logo
माघ ३० गते २०८१ समयः

संघीय संसदको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित

मेरो आर्थिक
मेरो आर्थिक
असार ११ गते २०८१
संघीय संसदको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए । बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक अन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेकाले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिएका थिए । परराष्ट्रमन्त्री श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी) का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औं बैठकमा भाग लिन इरान गएका छन् ।

बजेट पारित गराउन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपालगायत सत्तापक्ष दलले ह्विप जारी गरेका थिए । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेटको विपक्षमा मतदान गर्न र बजेट पास नहुञ्जेल संसद बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको थियो ।

बैठकमा सांसदहरूले राखेका विभिन्न मन्त्रालयको खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा ३१ वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत भएका थिए । यस्ता प्रस्तावमध्ये कतिपय प्रस्ताव विनियोजित बजेटमा १ रुपैयाँ बजेट कटौति गरियोस भन्ने थियो । मन्त्रालयहरुको खर्च कटौतिको प्रस्ताव अस्वीकृत भएको छ ।

Add a new comment