आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ दशमलव चार र कर्जा चार प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेर गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कूल निक्षेप नौ दशमलव चार प्रतिशतले वृद्धि भई रू ५२ खर्ब ९७ अर्ब ९० करोड पुगेको जनाएको छ । यही समयमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा चार प्रतिशतले वृद्धि हुँदा रू ४७ खर्ब ५८ अर्ब ४२ करोड पुगेको छ ।
२०७८ असारदेखि निक्षेपको तुलनामा कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर उच्च रहेकामा २०७९ असोजदेखि निक्षेपको वृद्धिदर अधिक रहँदै आएको छ । निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्यून रहेका कारण बाह्य क्षेत्रमा परेको चाप कम गर्न सहयोग पुगेको पनि राष्ट्र बैंकले जनाएको छ ।
शोधनान्तर स्थिति बचतमा रहँदा यसले तरलता सहज भएको पनि राष्ट्र बैंकले जनाएको छ । तरलतामा सुधार आएका कारण अल्पकालीन ब्याजदर घट्न थालेका र यसको असर निक्षेप तथा कर्जाको ब्याजदरमा समेत हुँदै जाने ठानिएको छ ।











