आधारहीन समाचार प्रकाशित गर्ने सञ्चार माध्यमहरु प्रति NIC ASIAको ध्यानाकर्षण


एनआईसी एशिया बैंकले बिना कुनै तथ्य समाचार प्रकाशित गर्ने केही सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित समाचारहरु प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । बैंकले एक विज्ञप्ती जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।
जारी गरिएको विज्ञप्तीमा लेखिएकाे छ,”केही सञ्चार माध्यमहरुमा बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामा आएको लगायतका विषयहरुमा प्रकाशित भ्रामक समाचारहरुप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।”
हाल केही सञ्चार माध्यमहरुले कपोकल्पित रुपमा नेपाल राष्ट्र बैंकले यस बैंकको अनुसन्धान गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरु पत्ता लगाइएको भन्ने उल्लेख गरी भ्रामक समाचारहरु प्रकाशित भएको देखिएको छ । तर वास्तवमा हाल यस बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण नेपाल राष्ट्र बैंकको नियमित क्यालेण्डर अन्तरगत भइरहेको बैङ्कको भनाइ छ । उक्त समाचारहरु सम्पूर्ण रुपमा झुठा र आधारहिन रहेको बैंकले प्रस्ट पारेकाे छ ।
यसै विषयलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामासँग जोडेर उनको, प्रमुख कार्यकारी अधिकृतको, अध्यक्षको, सञ्चालकहरुको र समग्र बैंक परिवारको प्रतिष्ठा, इमान्दारिता र कर्तव्यपरायणता समेतमा कपोकल्पित रुपमा हास्यास्पद टिप्पणी हुनु अत्यन्त खेदजनक रहेकोले यस्ता हास्यास्पद समाचारहरुवाट भ्रमित नहुन सम्बन्धित सबैलाई बैंकले विज्ञप्ती मार्फत अनुराेध गरेकाे छ ।