नवलपरासी गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाखसम्म रकम उपलब्ध गराउने भएको छ । साठी वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउन लागिएको नगरप्रमुखले जानकारी दिनुभयो ।
नगरका सहज स्वास्थ्य सेवा पुर्याउन निःस्वार्थ भावले काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको अधिकारीले बताउनुभयो । नगर कार्यपालिकाको बैठकले नगरपालिकामा कार्य गर्दै आएका कम्तीमा पाँच वर्ष सेवा गरी ६० वर्ष उमेर पुगेर सेवाबाट अवकाश भएमा त्यस्ता महिला स्वास्थ्य स्वयंसेविकालाई रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कम्तीमा पाँच वर्ष सेवा गर्नेलाई उनीहरूले सेवा गरेको प्रत्येक वर्षको रु पाँच हजारका दरले अधिकतम् रु एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय भएको अधिकारीले जानकारी दिनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो । त्यस्तै सेवामा बहाल रहँदाको अवस्थामा कुनै कारण मृत्यु भएमा त्यस्ता स्वयंसेविकाको परिवारलाई पनि रु एक लाख रकम उपलब्ध गराउने नगर कार्यपालिकाले निर्णय गरेको छ ।












