फागुन २६ गते २०८२ --:--:--
मेनु

मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

मेरो आर्थिक मेरो आर्थिक फागुन २६ गते २०७९ १०:५३ AM
मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

अन्तिम चरणका कामहरू भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

विद्युतगृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वान, जेनेरेटर, नियन्त्रण कक्षका उपकरणहरु जडान भइरहेको छ। विद्युतगृहबाट बाह्रबिसे सबस्टेसन सम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावरहरू निर्माण सकिएको छ,। तार तान्न बाँकी छ।

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड(१९को महामारीको चपेटामा आयोजना परेको थियो।

करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी ४ महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तिब्रता दिन निर्देशन दिएको छ। आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको बताए।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ छ। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब तीन करोड दुई लाख ९० रुपैयाँ छ। निर्माणाधीन आयोजनाको सुरूको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ।

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि.को १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि.को १, सिन्धु इन्भेष्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत सेयर छ।

४९ प्रतिशत साधारण शेयरधनी समुहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ। कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ। कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन्।

आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ। प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?