माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ
डाईभर्सन स्किमबाट वार्षिक दुई सय १६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारामा पर्छ ।
आयोजनाको विद्युत् उत्पादनका लागि खोलाको पानी फर्काउन ४२ मिटर लामो र चार मिटर उचाईको कङ्क्रिट ग्रेभिटी वेयर बनाइनेछ । विद्युत् गृहमा दुई वटा टवाईन रहनेछ । ती टबाईनबाट १० दशमलब ४९ मेगावाट बिजुली उत्पादन हुनेछ । विद्युत् उत्पादनपछि निस्केको पानीलाई सात सय ४० मिटर लामो सुरुङमार्फत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयमा पानी खसालिनेछ ।
विद्युत् गृहबाट उतपादित बिजुली आठ दशमलब चार किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनबाट बिगु गाउँपालिका–१ गोंगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रस्तावित ३३/२२० केभी सवस्टेशनमा जोडिनेछ ।
आयोजनाबाट २०८४ साल मङ्सिर १ गतेभित्र विद्युत् उत्पादन हुनेछ । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली उत्पादनमासमेत गुणात्मक वृद्धि हुनेछ ।
आयोजनाको डिजाइनलगायतको काम नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरेको हो ।











