Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

‘मान्छे खाने सडक’ले परिचित सिद्धबाबा सडक खण्डमा सुरुङ खन्न सुरु

मेरो आर्थिक
मेरो आर्थिक
माघ १० गते २०८०
‘मान्छे खाने सडक’ले परिचित सिद्धबाबा सडक खण्डमा सुरुङ खन्न सुरु

बुटवल : सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा खण्डमा मुख्य सुरुङ खन्न सुरू गरिएको छ। वर्षा वा हिउँदमा जाने पहिरोबाट हुने जनधनको क्षति कम गर्न सरकार अग्रसर रही साे क्षेत्रमा सुरुङ मार्गको योजना अघि बढाएको हो तर अपेक्षित गति भने लिन सकेको छैन ।

बहुप्रतिक्षित र महत्वकांक्षी योजनाको रूपमा रहेको १ हजार १ सय २६ मिटर लामो सुरुङमार्ग सुरुङ मार्गका लागि पाल्पाको दोभानमा मुख्य राजमार्गदेखि तल र तिनाउ नदी किनारमा क्रसर राखेपछि स्थानीयले विरोध गरे पनि पछि सहमति भएसँगै विवाद निवारण भएको हो।

वर्षामा आएको पहिरोले दुवै तर्फका रिप बगायो। पछि फेरि सुरुङमार्ग बनाउने स्थानमा रुख कटानमा अनुमति नपाउँदा केही ढिलाई भयो। अहिले भने रुख कटानको अनुमति पाएसँगै मुख्य सुरुङको टनेल निर्माण कार्य अघि बढाइएको छ। आयोजनाको हालसम्म १० दशमलव  २ प्रतिशत भौतिक प्रगति भएको छ।

सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख रामपुकार जयसवालले माघ पहिलो सातादेखि सुरुङमार्गको मुख्य सुरुङ खन्ने कार्य सुरू भएको बताए। कामको गति पनि तीव्र हुने उनकाे दाबी छ ।

यो सुरुङ मार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन ठेक्का पारेको छ। यो कम्पनीले बुटवल-नारायणगढ सडक निर्माणको लागि पनि जिम्मेवारी पाएको थियो जुन ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँमा ठेक्का भएको यो आयोजना सन् २०२२ मार्च ९ मा ठेक्का सम्झौता भएर २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ।

आयोजना प्रमुख जयसवालका अनुसार ७ सय ८० मिटरमा रकसेड, १ सय ५५ मिटर, १ सय ४५ मिटर र १ सय ३१ मिटर गरी ४ सय ३१ मिटरका तीन वटा बाइपास सुरुङसमेत निर्माण हुनेछ जसका लागि अहिले सिद्धबाबा सुरूङमार्ग निर्माणलाई तीव्रता दिने भन्दै गत पुस १६ गतेदेखि २ चरणमा गरी सय दिनसम्म दैनिक ६ घन्टा बुटवल-दोभान सडकखण्डमा सवारी साधन बन्द गरेर काम भइरहेको छ।

सुरूङमार्गको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टनेल तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो भएको र सवारी आवतजावत गर्दा काम गर्न समेत अवरोध भएको भन्दै राती १० बजेदेखि बिहान ४ बजेसम्म बुटवल-दोभान सडकखण्डको आवतजावत बन्द गरेको जयसवालले मेरो आर्थिक सँग कुराकानी गर्दै जानकारी दिए।

त्यस्तै, निर्माण कम्पनीले मोभिलाईजेसन अन्तर्गत पेस्की अन्तर्गत कुल लागतको १० प्रतिशत र काम गरेबापत २ प्रतिशत गरी १२ प्रतिशत अथार्त ८८ करोड रूपैयाँ लिइसकेको छ।

केही समयअघि रुख कटानको अनुमति नपाउँदा सुरूङमार्ग बाइपास टनेल तथा स्लोप क्षेत्रको समेत काम गर्दा त्यहाँ उत्पन्न हुने कम्पन तथा थर्कनले बाहिरी भागमा रहेका चट्टानहरू झर्ने जोखिम हुने भएकाले त्यसलाई रोक्न बनाउन लागिएको रकसेट बनाउन ढिला भएको आयोजना प्रमुख जयसवालले बताएका थिए।

‘जम्मा २३ वटा रुख कटानको अनुमति प्राप्त भएको छ। अब निर्माण कम्पनीसँग सम्झौता गरेर कटानको कार्य सुरु हुन्छ। रुख कटानपछि रकसेट बन्छ’, आयोजना प्रमुख जयसवालले भने।

‘मान्छे खाने सडक’ले परिचित यो सडक खण्डमा सुरुङ मार्ग निर्माण भएपछि पाल्पा, गुल्मी, स्याङजा, पर्वत, बाग्लुङ र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावतमा सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

तिनाउ गाउँपालिका-३, सिद्धबाबा क्षेत्रमा पछिल्लो १० वर्षमा ४ सय २१ यात्रुले ज्यान गुमाइसकेको जिल्ला ट्राफिक प्रहरी पाल्पाले जनाएको छ। यस क्षेत्रमा धेरै मानिस अंगभंग भएका छन्। सवारी साधनमा करोडौंको क्षति पुगिसकेको प्रहरीले जनाएको छ।

Add a new comment