Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

मुस्ताङमा पर्यटकको आगमन र बसाइ बढाउन ३ नयाँ पदमार्ग पहिचान

मेरो आर्थिक
मेरो आर्थिक
फागुन २१ गते २०८०
मुस्ताङमा पर्यटकको आगमन र बसाइ बढाउन ३ नयाँ पदमार्ग पहिचान

मुस्ताङमा पर्यटकको आगमन र बसाइ बढाउन तीनवटा नयाँ पदमार्गको पहिचान गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) ले सडक निर्माणका कारण विस्थापित भएका रुटको विकल्पका रुपमा नयाँ पदमार्ग पहिचान गरेको छ ।

लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेथाटी–सिर्कुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाटाल जोड्ने पदमार्गको रुपमा पहिचान गरिएको एसीएपी रेन्जर संजोक थकालीले बताए । सोही अनुसार पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन सुरु भएको छ ।

बेनी–जोमसोम र जोमसोम–कागबेनी–मुक्तिनाथ सडकका कारण पुराना पदमार्गहरू विस्थापित भएका छन् । धुवाँले सामान्य रुटमा पदयात्रा गर्न कठिन हुने भएकाले पर्यटकले विना बाधा प्रकृतिको रमाइलो गर्न सकिने रुटको माग गरेका छन् ।

जिल्लामा सडक निर्माण भएपछि मुस्ताङमा पदयात्राका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको मुस्ताङको लेतेका पदयात्रा गाइड हरि नेपालीले बताए । तर, आन्तरिक र भारतीय पर्यटकको आगमन भने बढेको छ ।

एसीएपी जोमसोमका अनुसार २०२२ मा २९.१२ प्रतिशत विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे पनि २०२३ मा १९.२० प्रतिशतमा झरेको छ । सन् २०२३ मा मुस्ताङमा ९० हजार ३६५ पर्यटक आएको एसीएपी जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए ।

गण्डकी प्रदेशका लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला समेटिएको एसीएपी क्षेत्रमा प्रवेश गर्न सार्क राष्ट्रका लागि प्रतिव्यक्ति १ हजार र अन्य मुलुकका लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

Add a new comment