Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

नेक विडिएचले विश्वविद्यालयको शिक्षा हासिल गर्ने बाटो बनाएको दावी

मेरो आर्थिक
मेरो आर्थिक
असार २५ गते २०८१
नेक विडिएचले विश्वविद्यालयको शिक्षा हासिल गर्ने बाटो बनाएको दावी

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले सञ्चालन गरेको विडिएच कार्यक्रमले डिप्लोमा गरेर बसेका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने वातावरण बनाएको बताइएको छ । ब्याचलर फर डिप्लोमा होल्डर्स कार्यक्रमले सिटिइभिटी अन्तरगत डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेकाहरुलाई विश्वविद्यालयको डिग्री लिने अवसर दिएको बताइएको हो ।

शुक्रबार वि.ई. सिभिल फर डिप्लोमा होल्डर्स २०१८ ब्याचका ३२ जना विद्यार्थीहरुको विदाई कार्यक्रममा वक्ताहरुले डिप्लोमा अध्ययन गरेकाहरुलाई विडिएच कार्यक्रमले विश्वविद्यालयको शिक्षा प्राप्त गर्न सहयोग पुगेको बताए । कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले देशको लागि चाहिने दक्ष इन्जिनियरहरु उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे । विडिएच कार्यक्रमले सिटिइभिटीबाट डिप्लोमा गरेकाहरुलाई विश्वविद्यालयको शिक्षा हासिल गर्ने बाटो बनाइदिएको भन्दै उनले विद्यार्थीहरुलाई आफूले हासिल गरेको शिक्षा र सीपलाई सहि सदुपयोग गर्न आग्रह गरे ।

प्रा.डा. शाहीले विश्वविद्यालयहरुले अब शिक्षा र उद्योगलाई सँगै जोडेर लैजाने पाठ्यक्रमको विकास गरिनुपर्ने बताए । ‘इन्डष्ट्री र एकेडेमीलाई लिंक अप उराउने गरी कोर्षहरु बनाउनु पर्छ । इन्डष्ट्री र कोर्ष छुट्टाछुट्टै जान सक्दैन ।’ साथै, उनले विडिएच उत्तीर्ण विद्यार्थीहरुलाई पढाई नसकिएको भन्दै पढ्ने तरिका सिकेको भन्दै पढाईलाई निरन्तरता दिन सुझाब दिए ।

कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले विद्यार्थीले सिकेको ज्ञानलाई व्यवहारमा उतारेर सफल हुनुपर्ने बताउँदै विद्यार्थीहरुलाई अवसर प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । ‘तपाईहरुको सफलता नै कलेजको सफलता हो । यहाँहरुलाई व्यवसायीक क्षेत्रमा प्रवेश गर्न र अवसर खोज्न कलेजले समन्वयकारी भूमिका निर्वाह गर्छ ।’ प्राचार्य भण्डारीले भने ।

विदाई कार्यक्रममा बोल्दै विडिएच टपर काशिराम उपाध्यायले नेक विडिएस कार्यक्रमले डिप्लोमा गरेर ग्याप भएकाहरुलाई उच्च शिक्षा अध्ययन गर्ने बाटो निर्माण गरिदिएको बताए । विडिएच कोर्षले रोजगारीमा रहेकाहरुलाई पढ्ने वातावरण बनाईदिएको उनको भनाई छ । कार्यक्रममा पूर्व कार्यक्रम अफिसर रविन्द्र कुमार बुढाथोकी, पूर्व कार्यक्रम संयोजक उमेश केसी लगायतले बोलेका थिए ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ ।

Add a new comment