इलाम । स्वास्थ्य बिमा गरेका बिमित स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगीबाट ठगिएको खुलेको छ । इलामको सूर्योदय नगरपालिका–११ का स्थानीयको भदौ १ गतेबाट लागु हुनेगरी बुझाएको बिमा रकम सो वडामा कार्यरत दर्ता सहयोगी धनमाया आलेले गायब बनाएपछि बिमित ठगिएको खुलेको हो ।
सूर्योदय ११ का ३५० देखि ४०० परिवारले गत वैशाख–ज्येष्ठ महिनामा स्वास्थ्य बिमा नवीकरण गर्न बुझाएको रकम दर्ता सहयोगीले गायब पारेको थाहा पाएपछि अहिले स्थानीयहरु रणभुल्लमा छन् । भदौ पछि बिमा लागु हुन्छ तर अस्पताल पुग्दा बिमा नवीकरण नभएको थाहा पाएपछि स्थानीयले स्वास्थ्य बिमा बोर्डको इलाममा रहेको जिल्ला कार्यालयमा बुझ्दा बिमा नवीकरण नभएको थाहा पाएको पीडितहरुले बताएका छन् । नयाँ बिमा र नवीकरण गर्न भनी रकम सङ्कलन गरिएकामध्ये ४० को हाराहारीमा मात्र घरमुलीको नाम नवीकरण भएको छ ।
स्थानीयले भदौबाट बिमा कार्यक्रमको सुविधा पाउनु पर्ने र दर्ता सहयोगी आलेलाई कारबाही गर्न माग गरेका छन् । पीडितले रकम हिनामिना भएको थाहा पाएपछि वडा ११ कार्यालय, तीनघरे प्रहरी चौकीमा निवेदन समेत दिएका छन् । आलेले नवीकरणका लागि रसिद काट्दा कुनै पुरानो रसिद दिएको त कसैको रसिदमा गत वर्षको मिति उल्लेख गरेको पाइएको छ ।
स्वास्थ्य बिमा कार्यालय इलामका कार्यवाहक कार्यालयका अनुसार आलेले बिमितबाट नवीकरणका लागि सङ्कलन गरेको रकम र कागजात हालसम्म जिल्लामा नपठाएको बुझिएको छ । तीन हजार ५ सयका दरले स्थानीयबाट सङ्कलन गरिएको रकम आलेले गायब बनाएपछि समस्या उत्पन्न भएको छ ।












