माघ २१ गते २०८२ --:--:--
मेनु

शायद युवा बिद्यार्थीहरुलाई आतंककारी देख्नु उनको पतनको कारण थियो

मेरो आर्थिक मेरो आर्थिक श्रावण २३ गते २०८१ ६:३६ AM
शायद युवा बिद्यार्थीहरुलाई आतंककारी देख्नु उनको पतनको कारण थियो
FILE- Bangladesh's Prime Minister Sheikh Hasina gestures as she speaks during a press conference in Dhaka, Bangladesh, Monday, Jan. 6, 2014. Hasina resigned on Monday, June 5, 2024, ending 15 years in power as thousands of protesters defied a military curfew and stormed her official residence. (AP Photo/Rajesh Kumar Singh, File)

काठमाडौं । बंगलादेशको बिद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको नाम बङ्गलादेशको राजनीतिक इतिहासमा प्रमुख स्थानमा रहेको छ। बिगतमा स्वतन्त्रता आन्दोलनका नायक शेख मुजिबर रहमानकी छोरी शेख हसिना, आफ्नो पिताको हत्या पछि राजनीतिक संघर्षमा होमिएकी थिइन्। तर उत्तरार्धमा आएर हेर्दा लोकतन्त्रका लागि लड्दै गर्दा उनको शासनकाल अन्त्यमा निरंकुशताको प्रतीक बनेको देखिन्छ। शायद युवा बिद्यार्थीहरुलाई आतंककारी देख्नु उनको पतनको कारण थियो ।

हसिनाको प्रारम्भिक संघर्ष र सत्ताको यात्रा
सन् १९७५ मा शेख मुजिबर रहमानको हत्या भएपछिको समय शेख हसिना र उनको बहिनी रेहना यूरोपमा रहेकाले बच्न सफल भएका थिए। परिवारका धेरै सदस्य गुमाएपछि उनीहरूले बेलायतमा शरण लिए। भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको आमन्त्रणमा ६ वर्ष भारत निर्वासनपछि सन् १९८१ मा उनी बङ्गलादेश फर्किइन्।

सैनिक शासनविरुद्ध बेगम खालिदा जियासँग मिलेर विद्रोह गर्दा सन् १९९० मा सैनिक शासक हुसेन मोहम्मद एर्सादको सत्ता समाप्त भयो। त्यसपछि बङ्गलादेशमा लोकतन्त्रको स्थापनापछि, १९९१ देखि खालिदा जियाले पाँच वर्ष सरकार चलाइन्। १९९६ मा शेख हसिना पहिलो पटक प्रधानमन्त्री बनिन्। यद्यपि, २००१ को निर्वाचनमा पराजित भई २००६ सम्म खालिदा जिया पुनः प्रधानमन्त्री भइन्।

निरंकुश बनेको केही उदाहरण
२००८ को चुनावमा शेख हसिना पुनः सत्तामा फर्किएकी थिइन्। उनी निरन्तर पाँचौ कार्यकालसम्म सत्तामा रहिन्। यस अवधिमा उनको शासनप्रति धेरै आलोचना उठ्यो। निर्वाचन अघि विपक्षी पार्टी बीएनपीका हजारौं कार्यकर्ता तथा आलोचकलाई पक्राउ गरिएको थियो।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई श्रम कानुन उल्लंघनको अभियोगमा जेल पठाइएको थियो। त्यस्तै, पत्रकार साहिदुल आलमलाई पनि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाई थुनामा राखिएको थियो।

आन्दोलन र पतन
शेख हसिनाको शासनकालमा बेरोजगारी र भ्रष्टाचारले जनताको असन्तोष बढाउँदै थियो। बङ्गलादेशका १५ देखि २४ वर्षभित्रका ४० प्रतिशत नागरिक अशिक्षित र बेरोजगार रहेको तथ्यांकले यो समस्या गहिरो भएको देखाउँछ।

विद्यार्थीहरूको आरक्षणविरुद्धको आन्दोलन चर्किएपछि, सरकारले दमनकारी नीति अपनाएको थियो। यस क्रममा दर्जनौंको ज्यान गुमेपछि आन्दोलन थप व्यापक भयो। अन्ततः, आन्दोलनकारीहरूले ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवास गणभवन घेरेपछि शेख हसिना राजीनामा दिँदै मुलुक छाड्न बाध्य भइन्।

बिश्वले सिक्ने सन्देश
यो महान बिद्यार्थी आन्दोलनबाट आज बिश्वले सिकेको कुरा हेर्ने हो भने युवा देशका रक्षक हुन् । युवाले चाहेमा जस्तोसुकै परिवर्तन सम्भव छ । स्वतन्त्रता जीवनको अभिन्न सौन्दर्य हो र यसलाई नियन्त्रण गर्न खोजे दुर्घटना हुन सक्छ । प्रतिपक्षी नेतृत्व र चेतनालाई जेलमा थुनेर नागरिक असन्तोष नथुनिंदोरहेछ । थोरबहुत काम गर्दागर्दै पनि लोकतान्त्रिक अभ्यास संकुचन गर्दा हसिना सत्ताच्यूत भएकी छन् ।
यो घटनाबाट काम नगर्ने, नागरिकलाई निराश बनाउने, नागरिकलाई हेप्ने, अपमान गर्ने, जे गरेपनि हुन्छ, जे बोले पनि हुन्छ भन्ने शासकीय रवैया हसिना शासनको अन्त्यभन्दा बढी घातक हुनसक्छ । राज्यका संयन्त्रहरूमा कब्जा जमाएर सधैं सत्तामा टिकिन्छ भन्ने भ्रम नराख्न हसिना सत्ताच्यूतले एउटा बलियो सन्देश दिएको छ ।

निष्कर्ष
शेख हसिनाको राजनीतिक यात्रा लोकतन्त्रको सेनानीबाट निरंकुशताकी साम्राज्ञीसम्मको यात्रा थियो। सुरुवाती संघर्ष र लोकतन्त्रका लागि योगदान महत्वपूर्ण भए पनि, अन्त्यमा उनका तानाशाही कदमहरूले उनको पतन ल्याएको देखिन्छ। बङ्गलादेशको भविष्यमा शेख हसिनाको पुनरागमन असम्भव देखिए तापनि, उनको राजनीतिक इतिहासले लोकतन्त्र र निरंकुशताको द्वन्द्वलाई सजीव राख्नेछ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?