काठमाडौँ । अमेरिकामा हिम आँधीको चेतावनी पछि, १८ राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ । दुई दिनमा ९,००० भन्दा बढी उडानहरू रद्द गरिएका छन् । राष्ट्रिय मौसम सेवाका अनुसार, २० करोड मानिसहरू, वा लगभग दुई तिहाइ अमेरिकीहरू, यो आँधीबाट प्रभावित हुन सक्छन् ।
आँधीको डरले, मानिसहरू किराना पसलहरूमा ओइरिरहेका छन् । धेरै पसलहरूमा पानी, अण्डा, मक्खन र मासु सकिएको छ । मौसम सेवाले आँधीले भारी हिउँ, वर्षा र चिसो ल्याउने चेतावनी दिएको छ ।
यातायात अधिकारीहरूले सप्ताहन्तमा यात्रा ढिलाइ र रद्द हुने चेतावनी दिएका छन् । धेरै प्रमुख शहरहरूमा विमानस्थलहरू पनि प्रभावित भएका छन् । उडान ट्र्याकिङ वेबसाइट फ्लाइट वेयरका अनुसार, शनिबार अमेरिकामा ३ हजार २५९ भन्दा बढी उडानहरू रद्द गरिएका थिए र आइतबार लगभग ५ हजार ८२६ उडान रद्द गरिएको छ ।
त्यस्तै अमेरिकाका धेरै क्षेत्रहरूमा १० देखि १४ इन्च हिउँ पर्ने अपेक्षा गरिएको छ। मौसम सेवाका अनुसार, यो आँधी अमेरिकाको उच्च मैदानबाट सुरु हुनेछ र बिस्तारै पूर्वतिर सर्नेछ । मेम्फिस, न्याशभिल, वाशिंगटन डीसी, बाल्टिमोर, फिलाडेल्फिया र न्यूयोर्क जस्ता प्रमुख शहरहरूमा हिमपात हुनेछ ।
दक्षिणी रकीज र मैदानहरूबाट मध्य-एट्लान्टिक हुँदै उत्तरपूर्वसम्म भारी हिउँ पर्ने अपेक्षा गरिएको छ । मौसम सेवाका अनुसार, कोलोराडोदेखि पश्चिम भर्जिनिया र बोस्टनसम्मका धेरै क्षेत्रमा १२ इन्चभन्दा बढी हिउँ पर्न सक्छ । आइतबार बिहानदेखि सोमबारसम्म न्यूयोर्क शहर वरपरका भागहरूमा १० देखि १४ इन्च हिउँ पर्न सक्छ र ३० माइल प्रतिघण्टासम्मको गतिमा हावा चल्न सक्छ। दक्षिणपूर्वी अमेरिकाका ठूला भागहरूमा पनि चिसो महसुस हुनेछ । धेरै अमेरिकी राज्यहरू हाल गम्भीर चिसो हावासँग जुधिरहेका छन् । ध्रुवीय भोर्टेक्सलाई प्राथमिक कारण मानिन्छ । ध्रुवीय भोर्टेक्समा हावा घडीको विपरीत दिशामा बज्छ । भौगोलिक संरचनाका कारण, ध्रुवीय भोर्टेक्स सामान्यतया उत्तरी ध्रुवको वरिपरि घुम्छ, तर जब यो दक्षिणतिर सर्छ, यसले अमेरिका, युरोप र एशियामा गम्भीर चिसो ल्याउने बताइएको छ ।
आपतकालीन घोषणा गरिएका राज्यहरूमा राष्ट्रिय गार्ड र उद्धार टोलीहरू तैनाथ गरिएको छ । न्यूयोर्कका गभर्नर क्याथी होचुलले हिउँ हटाउन राज्यभर १६ सय भन्दा बढी हिउँ हलो र एक लाख १४ हजार टन नुन तयार रहेको बताए। नुनले बरफको तह पगाल्छ, जसले गर्दा सडकबाट हिउँ हटाउन सजिलो हुन्छ ।
न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले २ इन्च हिउँ जम्मा भयो भने हजारौं सरसफाइ कर्मचारी, ७०० नुन फैलाउने र २२ सय हिउँ हलो खटाइने बताएका छन् । सबवे र बसहरू सञ्चालन भइरहनेछन्, तर मानिसहरूले घरमै बस्ने प्रयास गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले राज्य र स्थानीय अधिकारीहरूसँग तयारी गर्न काम गरिरहेको छ। संघीय आपतकालीन व्यवस्थापन एजेन्सी पनि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
ट्रम्पले यस हप्ता संयुक्त राज्य अमेरिकामा हुने गम्भीर शीतलहर र हिमपातको बारेमा उनलाई जानकारी गराइएको छ ।
संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले ३० वटा खोज तथा उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखेको छ । ७० लाख खाद्य प्याकेट र ६ लाख कम्बलको व्यवस्था गरिएको छ । ३०० जेनेरेटरहरू पहिले नै तैनाथ गरिएको बताइएको छ ।













