फागुन ४ गते २०८२ --:--:--
मेनु

भारतमा एआई इम्प्याक्ट समिट आजदेखि, विश्वका प्रमुख प्रविधि कम्पनीका प्रमुख सहभागी हुदै

मेरो आर्थिक मेरो आर्थिक फागुन ४ गते २०८२ ३:१४ PM
भारतमा एआई इम्प्याक्ट समिट आजदेखि, विश्वका प्रमुख प्रविधि कम्पनीका प्रमुख सहभागी हुदै

काठमाडौँ । विश्वकै ठूला प्रविधि कार्यक्रममध्ये एक ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ आजदेखि भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज समिटको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

फेब्रुअरी २० सम्म सञ्चालन हुने समिटसँगै ‘इन्डिया एआई इम्प्याक्ट एक्स्पो २०२६’ पनि आयोजना गरिएको छ । ७० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा ३० भन्दा बढी देशका ३०० भन्दा धेरै कम्पनीहरूले आफ्नो नवीनतम एआई प्रविधि र समाधानहरू प्रस्तुत गर्नेछन् ।

समिटमा एआईले कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा ल्याउन सक्ने परिवर्तनबारे विशेष छलफल हुनेछ । युवाका लागि ‘यूवएआई’ र ‘एआइ फर अल’ जस्ता कार्यक्रममार्फत सीप विकासमा जोड दिइएको छ ।

विज्ञहरूले एआईले रोजगारी समाप्त गर्नेभन्दा काम गर्ने शैली परिवर्तन गर्ने र उत्पादकत्व बढाउने धारणा राखेका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत विश्वभरबाट सहभागी हुन आएका नेताहरू, उद्यमी, अनुसन्धानकर्ता र प्रविधि विज्ञहरूलाई स्वागत गरेका छन्। समिटको मूल मन्त्र ‘सर्वजन हिताय, सर्वजन सुखाय’ राखिएको छ, जसले मानव हितका लागि एआई प्रयोग गर्ने साझा प्रतिबद्धता झल्काउँछ ।

समिटमा १०० भन्दा बढी देशका प्रतिनिधि, १५-२० राष्ट्राध्यक्ष तथा ५० भन्दा बढी मन्त्री सहभागी हुने अपेक्षा गरिएको छ । साथै, विश्वका प्रमुख प्रविधि कम्पनीका ४० भन्दा बढी सीईओहरू जस्तै गुगलका सुन्दर पिचाई, ओपनएआईका स्याम अल्टम्यान लगायतको सहभागिता रहने जनाइएको छ ।

पाँच दिनसम्म चल्ने कार्यक्रम अन्तर्गत उच्चस्तरीय छलफल, प्रदर्शनी, अनुसन्धान प्रस्तुति र रणनीतिक साझेदारीसम्बन्धी निर्णयहरू हुने बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?