काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएको दुधवरी बेच्ने न्युरोडको चर्तित टिपटप समोसा पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । बिशेष सूचनाको आधारमा अनुगमन गरिएको हो ।
गुनासो आएपछि कृषि तथा पशुपन्क्षी विभागका प्रमुख एवम् निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो । उपभोक्ताले महानगरको वडा नम्बर १७ मा रहेको सो पसलले खान नमिल्ने गरी बिग्रिएको दुधवरी बेचेको भन्ने गुनासो टिपाएका थिए ।
अनुगमनको क्रममा डा। झाले फाटेको दुधमा दुधवरी बनाइएको पाइएको तथा पसलमा बस्ने व्यक्तिमा शिष्टाचार नभएको रुखो र अशिष्ट बोलीचाली रहेको बताउनुभयो । उहाँका अनुसार करिब ५ किलोग्राम बिग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो ।
महानगरले जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, बिग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिएको छ ।













