निर्माण सम्पन्न हुनु अघि नैं उद्घाटन गरिएको सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला भएको छ । काठमाडौं महानगरपालिकाले डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको जनाएको हो ।
निर्माणाधिन तीन तल्लामध्ये पहिलो तल्लाको पार्किङ गत आइतबारदेखि खुलेको छ । अन्य दुई तल्लामा केही पानी हटाउनुपर्ने र सरसफाइ गर्नुपर्ने भएकोले केही समय लाग्ने भएको छ ।
हाललाई निःशुल्क पार्किङ उपलब्ध गराइएको र पुरै सञ्चालनमा आएपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने तयारी रहेको महानगरले जनाएको छ । दशैंको मुखमा पार्किङको समस्या केही हदसम्म सहज हुने महानगर तथा सर्वसाधारणको बुझाई छ ।













