फागुन १९ गते २०८२ --:--:--
मेनु

देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारको नीति छ : अर्थमन्त्री

मेरो आर्थिक मेरो आर्थिक श्रावण ३१ गते २०८० १:५१ PM
देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारको नीति छ : अर्थमन्त्री

अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताएका हुन् ।

‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो के सधैँ आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो ’ उनले प्रश्न गरे । अर्थमन्त्री महतले भने, – ‘कर तिर्नेको सङ्ख्या थोरै छ, कर तिर्नुपर्नेको सङ्ख्या धेरै छ । उनीहरूले कर तिर्न पनि सक्छन्‌ । उनीहरूलाई करको दायरामा ल्याउनुपर्छ ।’

‘निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्नु हुँदैन, अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ । बिस्तारै ब्याज घटिरहेको छ,’ अर्थमन्त्री महतले भने, सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैँ नकारात्मक भन्नु हुँदैन । हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ । यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ ।’

उनले निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराहरूको चर्चा गर्न सुझाए , ‘अब अर्थतन्त्र सुधारतर्फ जान्छ । नकारात्मक मात्र कुरा गर्ने हैन । निजी क्षेत्रले खराब मात्र छ भनेर हल्ला फैलाउनु राम्रो होइन । हाम्रो देशमा नकारात्मकता नै लोकप्रिय हुने गरेको छ । राम्रो कुराको चर्चा नै हुँदैन । सकारात्मक कुराहरूको चर्चा हुनुपर्छ ।’

चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनका विश्वास रहेको छ । गत वर्ष विविध कारणले लक्ष्य पूरा नभएपनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनको भनाइ छ । अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्तमात्र भएको तर अब बैंकमा पर्याप्त तरलता रहेको, विस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने उनको विश्वास छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?