माघ २२ गते २०८२ --:--:--
मेनु

आईसीसी टी–२० विश्वकप क्रिकेट छनौट चरणको खेल आजबाट नेपालमा

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १३ गते २०८० ९:०८ AM
आईसीसी टी–२० विश्वकप क्रिकेट छनौट चरणको खेल आजबाट नेपालमा

आगामी सन् २०२४ मा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनौट चरणको खेलको लागि एसियाली मुलुकका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा क्रिकेट खेलको प्रतिस्पर्धा गर्दै छन् । आज छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुने भएका हुन् ।

कीर्तिपुर मैदानमा एकै समयमा नेपाली समयअनुसार बिहान ९ बजे नेपाल र सिंगापुर बीच र मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ । यसैगरी आजै नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल र सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेत बीच चौथो खेल हुनेछ ।

आगामी टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी–२० विश्वकपमा छनोट हुनेछन् । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आयोजना नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरको सहभागिता रहनेछ । प्रतियोगिता खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ ।

दुई समूहमा विभाजित खेलमा प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् भने समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् । प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चारवटै टोलीले एकअर्कासँग एक–एक खेल खेल्ने छन् । त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्ने छन् ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिनेछ । सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुने छन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?