काठमाडौँ आउने सार्वजनिक यातायातका साधनको माध्यमबाट अबैध रुपमा काठमाडौं चिनी भित्रिनेगरेको पाइएको छ । प्रहरीले वीपी राजमार्गमा सञ्चालन हुने सार्वजनिक यातायातको साधन चेकजाँच गरी अवैध रुपमा ल्याइएको चिनी बरामद गरेको हो ।
वीपी राजमार्गमा चल्ने सवारी साधनमा अवैध रुपमा चिनीको ओसार पसार भएको सूचनाको आधारमा प्रहरी चौकी काभ्रेभञ्ज्याङका प्रहरी र ट्राफिक प्रहरीले बुधबार र बिहीबार राजमार्ग गुड्ने सवारी चेकजाँच गर्दा करिब एक हजार किलोग्राम चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
वीपी राजमार्गको काभ्रेभञ्ज्याङमा बरामद गरिएको चिनीको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । यसअघि कात्तिक २ गते ईलाका प्रहरी कार्यालय बनेपाले राजस्व छलेर अवैध रुपमा धानको बारोले चिनी छोपी ल्याएको अवस्थामा करिब छ लाख रुपियाँ बराबरको ९२ बोरा चिनीसहित एक जनालाई पक्राउ गरेको थियो ।













