Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि सरकारी वकिलको बहस

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १३ गते २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि सरकारी वकिलको बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका तर्फबाट उच्च अदालत पाटनमा चलिरहेको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्ध प्रतिवादीहरूको पुनरावेदन निवेदनमाथिको बहस मंगलबार सकिएको हो ।

सोमबारदेखि उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा मंगलबार नेता टोपबहादुर रायमाझीसहित चारजना प्रतिवादीहरू तर्फको बहस भएको हो । सुनुवाइका क्रममा मंगलबार अन्तिम बहस गरेसँगै २२ प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएको हो । उनीहरूको बहस सकिएसँगै अब सरकारी वकिलले बहस गर्ने छन् ।

मंगलबार रायमाझीसहित रामशरण केसी, केशव तुलाधर र सागर राईका तर्फबाट कानुन व्यवसायीले प्रतिरक्षा बहस सकाएका हुन् । बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबार अभियुक्तका वकिलले जवाफी बहस गर्ने छन् । उच्च अदालत पाटनका स्रेस्तेदार ठगिन्द्र कट्टेलका अनुसार शुक्रबार मात्र फैसला आउने देखिएको छ ।

सोमबारदेखि पूर्व–उपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका वकिलहरूले प्रतिरक्षा बहस गरेका थिए । उनीहरूको बहस मंगलबारको खाजा ब्रेकअघि सकिएको थियो । खाजा ब्रेकपछि अभियुक्तहरू रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस भएको थियो । यससँगै प्रतिवादीहरूका वकिलहरूको बहस टुंगिएको हो ।

त्यस्तै आज (बुधबार) देखि सरकारी वकिलका तर्फबाट बहस हुनेछ । सरकारी वकिलको बहस सकिएपछि निवेदक (प्रतिवादी) का कानुन व्यवसायीले जवाफी बहस गर्ने छन् । त्यसपछि भने पुनरावेदन निवेदनमा उच्च अदालतको फैसला आउनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

Add a new comment