फागुन १९ गते २०८२ --:--:--
मेनु

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि सरकारी वकिलको बहस

मेरो आर्थिक मेरो आर्थिक मंसिर १३ गते २०८० ७:५१ AM
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि सरकारी वकिलको बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका तर्फबाट उच्च अदालत पाटनमा चलिरहेको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्ध प्रतिवादीहरूको पुनरावेदन निवेदनमाथिको बहस मंगलबार सकिएको हो ।

सोमबारदेखि उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा मंगलबार नेता टोपबहादुर रायमाझीसहित चारजना प्रतिवादीहरू तर्फको बहस भएको हो । सुनुवाइका क्रममा मंगलबार अन्तिम बहस गरेसँगै २२ प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएको हो । उनीहरूको बहस सकिएसँगै अब सरकारी वकिलले बहस गर्ने छन् ।

मंगलबार रायमाझीसहित रामशरण केसी, केशव तुलाधर र सागर राईका तर्फबाट कानुन व्यवसायीले प्रतिरक्षा बहस सकाएका हुन् । बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबार अभियुक्तका वकिलले जवाफी बहस गर्ने छन् । उच्च अदालत पाटनका स्रेस्तेदार ठगिन्द्र कट्टेलका अनुसार शुक्रबार मात्र फैसला आउने देखिएको छ ।

सोमबारदेखि पूर्व–उपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका वकिलहरूले प्रतिरक्षा बहस गरेका थिए । उनीहरूको बहस मंगलबारको खाजा ब्रेकअघि सकिएको थियो । खाजा ब्रेकपछि अभियुक्तहरू रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस भएको थियो । यससँगै प्रतिवादीहरूका वकिलहरूको बहस टुंगिएको हो ।

त्यस्तै आज (बुधबार) देखि सरकारी वकिलका तर्फबाट बहस हुनेछ । सरकारी वकिलको बहस सकिएपछि निवेदक (प्रतिवादी) का कानुन व्यवसायीले जवाफी बहस गर्ने छन् । त्यसपछि भने पुनरावेदन निवेदनमा उच्च अदालतको फैसला आउनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?