Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

सरकार र बालकुमारी घटनामा मृतकका परिवारका बीचमा सहमति

मेरो आर्थिक
मेरो आर्थिक
पौष १७ गते २०८०
सरकार र बालकुमारी घटनामा मृतकका परिवारका बीचमा सहमति

सरकार र बालकुमारी घटनामा मृतकका परिवारका बीचमा सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलमा ४ बुँदे सहमति भएको हो ।

पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।

सोमबार गृह मन्त्रालयमा भएको छलफलमा ४ बुँदे सहमति पछि शव उठाउन पीडित परिवार सहमत भएका छन् । दुई पक्ष बीचमा भएको ४ बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने, दोस्रो बुँदामा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, तेस्रो बुँदामा मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने तथा चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझिलिने सहमति भएको छ ।

यस्तै मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिपत्रमा उल्लेख छ । अझै परिवारले शव बुझ्न नमानेपछि सरकारले मृतकका परिवारसँग थप सहमति गरिएको हो ।

Add a new comment