Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

दुई बसका यात्रुको आज बिहानैदेखि वाटर ड्रोनमार्फत खोजी गरिंदै

मेरो आर्थिक
मेरो आर्थिक
असार २९ गते २०८१
दुई बसका यात्रुको आज बिहानैदेखि वाटर ड्रोनमार्फत खोजी गरिंदै

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । यो र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो ।
आज बिहानै बाट सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताए। उनले भने, “धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।”

काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले जानकारी दिए । उक्त घटनामा ३ यात्रु पौडी खेलेर बाँचेका छन् ।

Add a new comment