बागलुङ वडिगाडको पहिरोमा परि ५ जनाको मृत्यु, ४ जना बेपत्ता
मेरो आर्थिक
श्रावण २३ गते २०८१
समयः ७:१० am
काठमाडौं । बागलुङ जिल्लाको वडिगाड गाउँपालिका १० आरुपाटमामा आएको बाढी पैरोको कारण घर गोठ बगाउँदा ५ जनाको मृत्यु भएको छ ।
सोमबार रातीदेखि परेको अविरल वर्षाको कारण बिहान ११बजेको समयमा आरुपाट स्थित जोग बहादुर बुढाको कच्ची घर र गोठ माथिबाट पहिरो खस्दा पहिरोमा आएको लेदो सहितको पहिरोमा परि ५ जनाको मृत्यु भएको वडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । उपाध्यक्ष वनले गम्भीर घाइते भएका ४ जनालाई हेलिकप्टर मार्फत उपचारका लागि लैजाने तयारी गरेको जानकारी दिएका छन् ।
हालसम्म मृत्यु नेहरुमा वडिगाड गाउँपालिका वडा नं. १० वर्ष ७० की मोति देवी कामी, सोही वडामा बस्ने अन्य सिर्जना वि.क.को ६ महिना की छोरी सिता वि.क., वर्ष ७ की मालती बुढा, वर्ष ८ को अमल बुढा र ११ की सिता पुन रहेका छन् । उनीहरू आफ्नो घर पहिरोको जोखिममा भएको कारण छिमेकी जोग बहादुर बुढाको घरमा बास बस्न गएको तर सोही घर पहिरोले बगाउँदा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पहिरोको कारण घर बगाएको खबर आउन साथ इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकको नेतृत्वोमा १० जनाको प्रहरी टोली घटना स्थलमा खटिएको सूचना अधिकारी विजय यादवले जानकारी दिएका छन् । हाल प्रहरी सहित स्थानीय , स्थानीय जन प्रतिनिधिहरू समेतको टोली उद्धारका लागी खटिएको घटनास्थलबाट राजकुमार विकले जानकारी दिएका छन् ।
घाइतेहरू मध्येमा आरुपाट १० निवासी वर्ष २६का ओम प्रकाश पुनको ढाडमा चोट देखिएको छ भने अर्का वर्ष ४६ की संगिता बुढाको दाहिने कुम भाँचिनुको साथै घुँडामा चोट लागेको छ । त्यस्तै वर्ष २३ की सिर्जना वि.क.को छाती र खुट्टामा चोट लागेको छ । वर्ष ४३ को मङ्गल सेन बुढाको खुट्टा र टाउकोमा चोट लागेको छ हाल उनीहरूको अवस्था मध्यम देखिएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै अर्का घाइते वर्ष १९ की रिमा पुनको टाउको र अनुहारमा चोट लागेको छ, त्यसैगरी क्रमशः वर्ष ६० की सुमित्रा वि.क.को कोख ,टाउको र खुट्टामा चोट देखिएको छ, वर्ष ७८ को जोग बहादुर बुढाको टाउको र ढाडमा चोट लागेको छ। उनको अवस्था भने गम्भीर रहेको छ ।
सोही वडा निवासी वर्ष ५१ को शशिराम वि.क.को अनुहार छाती र घुँडामा चोट लागेको छ । वर्ष ९ को ज्ञाने बुढा टाउकोमा चोट लागेको छ उनीसँगै ३१ वर्षकी सिता थापा घाइते भएकी छन् । पहिरोमा पुरिएर ४ जना मानिस पुरिएको आशंका भएको प्रहरीले जनाएको छ । बडिगाड गा.पा.१० बस्ने वर्ष ६० की मधु बुढा, वर्ष १० को मनोज बुढा , वर्ष ०३ को आरुष थापा र वर्ष ११ को सुमन वि.क.बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ ।
हाल उनीहरूको खोजी कार्य भइरहेको समेत प्रहरीले जनाएको छ । साथै घाइतेहरूलाइ थप उपचारका निमित्त हेलिकप्टर मार्फत लैजाने तयारी भए पनि मौषममाआएको खराबीको कारण सम्भव हुन नसकेको सूचना अधिकृत यादवले जानकारी दिएका छन् । साथै सोही वडिगाड गाउँपालिका वडा नं. ९ मा बिहान आएको वर्षाको कारण पहिरो आउँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा वर्ष १५ का विधान परियार र वर्ष २४ का गंगा बस्नेत रहेका छन् ।