प्रधानमन्त्रीद्वारा टेबल टेनिस विजेता खेलाडीलाई बधाई ज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुुभकामना दिए । अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७ एप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक प्राप्त गरे ।
प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाइ अवलोकनका साथै उनीहरुसँग आफूूले पनि केहीबेर खेलेर प्रोत्साहन गरे। साथै प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीहरुलाई आकस्मिकरुपमा नगद पुरस्कार प्रदान गरे । सङ्घका उपाध्यक्ष पूर्णशङ्कर श्रेष्ठले यसरी प्रधानमन्त्रीस्तरबाट टेबल टेनिसलाई पहिलो पटक स्नेह प्राप्त भएकाले यस खेलले भविष्यमा देशलाई राम्रो नतिजा दिने विश्वास व्यक्त गरे।