इलाम नगरपालिकाद्वारा आगामी आ.व. २०८२/ ०८३ को बजेट सार्वजनिक

इलाम । इलाम जिल्लाको सदरमुकाम रहेको इलाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेको छ । इलाम नगर सभाको १७ औं अधिवेशनमा उप–प्रमुख विष्णु दाहालले बजेट प्रस्तुत गरेकी हुन् ।
आर्थिक वर्ष ०८२/०८३ का लागि पेस गरिएको कुल एक अर्ब १४ करोड ३४ लाख १३ हजार रुपैयाँको बजेटमा प्रशासनिक तर्फ कुल बजेटको १३ प्रतिशत, पूूर्वाधारमा २० प्रतिशत, सामाजिक विकासमा ५६ प्रतिशत, आर्थिक विकासमा छ प्रतिशत, शुसासनतर्फ चार प्रतिशत, वन–वातावरण र विपदमा एक प्रतिशत, वित्तिय व्यवस्थामा दुई प्रतिशत विनियोजित गरिएको छ ।
चालुु आर्थिक वर्ष ०८१/०८२ मा सङ्घीय र प्रदेश सरकार मार्फत आएको समानिकरण, समपुरक र अनुदान शीर्षकका खर्च भइनसकेका बजेटहरुलाई आयमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिएको बताइन् ।
चालु आर्थिक वर्षमा चालुु तर्फ ६९ प्रतिशत र पुुँजीगत तर्फ २९ प्रतिशत खर्च भइसकेको उनको भनाई छ । दाहालले चालु आर्थिक ०८१/०८२ का लागि गएको १६औं नगरसभाले पारित गरेको एक अर्ब १३ करोड रुपियाँको बजेट प्रदेश र सङ्घीय सरकार मार्फत आएका विभिन्न योजनाको बजेट बढेर एक अर्ब १८ करोड रुपियाँमा अहिले सञ्चालन भइरहेको समेत जानकारी दिइन ।
बजेट समग्रमा राम्रो रहेको सहभागीहरुले बताए । जिल्लाको सदरमुकाम समेत रहेको इलाम नगरपालिकाको बजेटलाई चासोको रुपमा हेरिएको थियो ।