पौष २ गते २०८२ --:--:--
मेनु

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

मेरो आर्थिक मेरो आर्थिक पौष २ गते २०८२ ९:१६ PM
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने टिम छनौटका लागि दोस्रो चरणको क्लोज क्याम्पको लागि २० खेलाडीलाई छानेको छ । यसअघि २६ नेपाली महिला खेलाडीलाई क्लोज क्याम्पमा बोलाइएकोमा ६ खेलाडीलाई बाहिर राख्दै २० खेलाडी छानेको हो । क्यानले इन्दु बर्मा, रुबिना क्षेत्री, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, कविता कुँवर, राजमती ऐरी, साना प्रविन, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, काजोल श्रेष्ठ, रुबी पोदार र पूजा महतोलाई दोस्रो फेजको क्याम्पमा बोलाएको छ । नेपालमै जनवरी १२ देखि फेब्रुअरी २ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुने छन् । ग्लोबल क्वालिफायरआमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रहेका छन् ।

२- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार छनोट तथा सिफारिस समितिले सात जनालाई छनौट गरेको छ । समितिले सात उम्मेदवारको सङ्क्षिप्त सूचि प्रकाशित गर्दै आफूले पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र लगायतका सक्कलै कागजातहरूसहित प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ । समितले खेमराज जोशी, गोविन्द सिंह विष्ट, डबल बहादुर धामी, डमरु प्रसाद पनेरु, पदमराज जोशी, भिमबहादुर चन्द र शिवप्रसाद सापकोटालाई छनौट गएको छ । समितले छनौट भएका उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता पौष ८ गते मङ्गलवार सिंहदरबारस्थित शिक्षामन्त्रालयमा बिहान ९ बजेदेखि हुने जानकारी दिएको छ ।

३- काठमाडौँ महानगरले सामुदायिक र संस्थागत विध्यलायहरुलाई लामो कपाल भएका विद्यार्थीको कपाल मुन्डन नगर्न सर्कुलर गरेको छ । महानगरले सर्कुलर जारी गर्दै महानगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भनि विद्यालयमा जथाभावी मुन्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको भनि जन गुनासा प्राप्त भएको उल्लेख गर्दै विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन निर्देशन दिएको छ । महानगरले शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन हुन अनुरोध गरेको छ ।

४- प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे । प्रधानमन्त्रीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाई तथा सफल यात्राको कामना गरिन । साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाए । चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरे ।

५- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन् । बर्दियाका राजापुर नगरपालिका—१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका—५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरेका हुन् । शहरी विकास मन्त्रालय मातहत रहेको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स बृज डिभिजनमार्फत निर्माण हुने पुलको लम्बाइ ४८२.२० र चौडाइ १.६० मिटर रहेको छ । पुल निर्माणबाट दौलतपुर र टीकापुर क्षेत्र दुवैतर्फका करिब २ हजार घरधुरी लाभान्वित हुनेछन् । पुलको मध्य भागमा फोटो खिच्न मिल्ने गरी आवश्यक संरचना पनि बनाइनेछ । दौलतपुरघाटमा पुल नहुँदा डुंगाको प्रयोग गरी कर्णाली नदीमा जोखिमपूर्ण यात्रा हुँदै आएको छ । वर्षायामका डुंगाको प्रयोग गर्न नसकिने हुँदा आतजावत नै बन्द हुने अवस्था रहेको छ । झोलुङ्गे पुलको निर्माण पश्चात स्थानीय बासिन्दालाई बाहैं महिना सहज रुपमा नदी वारपार गर्ने सुविधा उपलब्ध हुनेछ । शिलान्यास समारोहमा मन्त्री घिसिङले पुल निर्माणपछि टापुको रुपमा रहेका राजापुर र टीकापुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न योगदान पुग्ने बताए । दौलतपुरतर्फका स्थानीयलाई टीकापुर बजार क्षेत्रमा क्याम्पस, अस्पताललगायतका पहुँचपमा सहज हुने एवम् कृषि उत्पादन टीकापुर क्षेत्रसम्म ढुवानी गर्र्ने वातावरण बन्ने उल्लेख गर्दै मन्त्री घिसिले त्यस क्षेत्रमा रहेको नदी कटानलाई नियन्त्रण गरी सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए । उमले तोकिएकै समयमा पुलको निर्माण सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिए । ठेक्का सम्झौता बमोजिम पुल ११ असार २०८४ भित्र सम्पन्न हुनेछ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले झोलुङ्गे पुल निर्माणले दौलतपुर क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने आधार तय गर्ने उल्लेख गरे । राजापुर नगरपालिका प्रमुख दिपेश थारु र टीकापुर नगरपालिका प्रमुख रामलाल दगौरा थारुले पुलले सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तथा दुई जिल्ला जोड्ने हुँदा आवतजावत सहज हुनुकासाथै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । पुल निर्माणका लागि १५ करोड ७४ लाख रुपैयाँ (भ्याटसहित)मा ठेक्का सम्झौता भएको छ ।

६- भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरेको हो । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केही समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिएका छन् । आयोगले अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी गरेको छ । जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यही पुस ९ गते सकिँदैछ ।

७- नेपालले एसीसी पुरुष यू–१९ एशिया कपमा आफ्ना तिनै खेलमा हार बेहोरेको छ । नेपाल बुधबार समुह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १२५ रनको लक्ष्य पछाएको अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४६.४ ओभरमा अल आउट हुदै १२४ रन बनाएको थियो । नेपालका लागि दिलसाद अलीले सर्बाधिक ३२ रन बनाए भने चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर जुतिल्लाह शाहीनले ३ विकेट लिए भने अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले २-२ विकेट लिएका थिए । जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवै प्रतियोगिताबाट बाहिरिएका छन् । त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन । यसअघि नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए । एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन् । समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् भने समुह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।

८- नेकपा एमालेको नयाँ नेतृत्व चयनको मतदान लम्बिने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मतदान केन्द्रभित्र प्रवेश गर्ने समय ३ घण्टा थप गरेर ८ बजेसम्म पुर्याएको छ । यसअघि आयोगले मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने समय ५ बजेसम्मका लागि तोकेको थियो । बुधबार बिहान ९ बजेर २० मिनेट जादा शुरु भएको मतदानमा एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा लागेको बताइएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन् । महाधिवेशनमा २ हजार २६३ प्रतिनिधिले मतदान गर्दैछन् । मतदानको गति सुस्त भएकाले यो मतदान रातभर चल्न सक्ने देखिएको छ ।

९- बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसमेत ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारसँगको मिलोमतोमा कमसल सामाग्री प्रयोग गरि काम गर्दा १४ लाख ६६ हजार अनियमतिता गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब-इन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध काठमाडौँको विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

१०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरले सोसियल इन्फ्लुइन्सर बेट्टीना एन्डरसनसँग इन्गेजमेन्ट गरेका छन् । राष्ट्रपति ट्रम्पले डिसेम्बर १५ मा ह्वाइट हाउसमा आयोजित बिदाको पार्टीमा ट्रम्प जुनियरको इन्गेजमेन्ट भएको घोषणा गरिएको छ । यो इन्गेजमेन्ट कहिले भएको थियो भन्ने बारे स्पष्ट बताइएको छैन । यो ट्रम्प जुनियरको तेस्रो इन्गेजमेन्ट हो । उनले पहिले पूर्व मोडेल र अभिनेत्री भेनेसासँग विवाह गरेका थिए । उनी १२ वर्षदेखि उनीसँग सम्बन्धमा थिए । उनीहरूका पाँच सन्तान छन् । भेनेसाले २०१८ मा सम्बन्ध विच्छेद गरेका थिए । यसपछि, ट्रम्प जुनियरले २०१८ मा अमेरिकी टिभी प्रसनालिटी किम्बर्ली गिल्फोयलसँग विवाह गरे । यो विवाह छ वर्षसम्म चल्यो । मिडिया रिपोर्टका अनुसार, ट्रम्प जुनियर र बेट्टीना एन्डरसन लगभग एक वर्षदेखि डेटिङमा छन् ।

११- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेर रोकिएको छ । आज ३३२ कम्पनिका ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७८२ मा कारोबार भएको थियो । आज होटल्स, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बाराही हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २२ करोड ७८ लाखको कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १३ करोड ७६ लाखको कारोबार भएको छ ।

१२- नेपाली काँग्रेसका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरेसहित ७ जनाका तर्फबाट पेश गरिएको रिटमाथि सुनुवाई गर्दै संबैधानिक इजलासले कारण देखाउ आदेश दिएको हो । मङ्सिर २३ गते दर्ता भएको यस रिटको सुनुवाई प्रधान्यायाधिश प्रकाशमान सिंह राउत, न्यायाधिशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोज कुमार शर्मा र नहकुल सुवेदीको संबैधानिक इजलासले गरेको थियो । सर्वोच्चले यस रिटमा लगाबमा राख्न आदेश दिदै प्रतिनिधिसभा विघटनविरुद्धको सबै रिटलाई एकैपटक सुनुवाइ गर्ने भएको छ । योसँगै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी दुईवटा राजनीतिक दल अनि सार्वजनिक सरोकारअन्तर्गत १७ रिट दर्ता भएर विचाराधीन छन् । यस अघि नेकपा एमाले र अन्य १७ थान निवेदनमा पहिलो सुनुवाइ भइसकेको छ । सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ ।

१३- हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ लामालाई निलम्बन गरेको छ । कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले बुधबार निलम्बन गरेको हो । अध्यक्ष साम्पाङले पार्टीका उपाध्यक्ष राज कुमार तामाङ ( देवराज लामा) लाई धेरै बर्ष पहिलेको राजनीतिक गतिविधिका कारण देखाएर पुस १ गते नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भए पछि सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दवाव नपरोस् भन्ने उद्धेश्यले अनुसन्धानको अन्तिम टुङ्गो नलागुन्जेल सम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्वन गरिएको जानकारी दिएका छन् ।

१४- नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र विकेन्द्रित सेवा वितरण कार्यक्रमलाई सुदृढीकरण गर्ने योजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ । बुधबार अर्थमन्त्रालयमा एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर रहनेछ । ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका कन्ट्री डाइरेक्टर आनो कुश्वाले हस्ताक्षर गरेका थिए । समारोहको शुरुवातमा सह–सचिव डा. धनीराम शर्माले मन्तव्य व्यक्त गर्दै नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तर- सरकारको श्रोत व्यवस्थापनमा सुधार गर्ने यस कार्यक्रमको उद्देश्य रहेको बताए । सम्झौतामा हस्ताक्षरपछि कन्ट्री डाइरेक्टर आनो कुश्वा तथा अर्थ सचिव डा. घनश्याम उपाध्यायले सम्बोधन गर्दै सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक श्रोतहरुको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहलाई सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहनेछ।यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा अर्थ मन्त्रालय तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

१५- प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाएको बताउदै निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर रहेको बताएकी हुन् । उनले भनिन्- ‘ निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ। त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो ।’ प्रधानमन्त्री कार्कीले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कलानगरी, नेपालकै जेठो स्थानीय तहको रुपमा रहेको ललितपुर महानगरपालिका स्थापनाको १०७ वर्ष पूरा गरेको यस सुखद अवसरमा नगरवासीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत सबैलाई शुभकामना दिदै ललितपुर उमेरले मात्र जेठो छैन, कलात्मक सम्पदाहरुमा पनि जेठो रहेको बताएकी छन् ।

१६- नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ५९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले बढेर ४०५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३८८५ मा कारोबार भएको थियो ।

१७- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्धिपक्षीय भेटमा निरन्तरता छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे । कञ्चनपुरका शुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास व्यक्त गरे । नेपाल—भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयामा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ । सन्धि बमोजिम पानी उपयोगिता गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् । करिब ९ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रुपमा आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ । महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । आयोजनाको कूल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।

१८- फ्रान्सका फरवार्ड उस्मान डेम्बेले फिफाको बर्ष खेलाडी बनेका छन् । २८ बर्षिय पीएसजीका फरवार्डले यस बर्षको फिफाको ‘द बेस्ट’ अवार्ड जितेका हुन् । उनले २०२४ मा पीएसजीका लागि ३५ गोल गरेका थिए भने पीएसजीलाई लिग वान र च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनले गत सेप्टेम्बरमा यस बर्षको बेलुन डो अर अवार्ड समेत जितेका थिए । डेम्बेलेले बार्सिलोनाका लामिन यमल र रियल म्याड्रिडका किलियन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । यो अवार्ड अगस्त २०२४ देखि अगस्त २०२५ सम्मको प्रदर्शनलाई आधार मानेर दिइएको फिफाले जनाएको छ । साथै यस अवार्डका लागि फिफाका सदस्य देशका राष्ट्रिय टिमका प्रशिक्षक र कप्तानले मतदान गरेका थिए ।

१९- फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले पुर्व क्लब पीएसजीविरुद्धको कानुनी लडाई जितेका छन् । अदालतमा चलिरहेको बोनससम्बन्धि मुद्धामा पीएसजीले एम्बाप्पेलाई ६३ मिलियन डलर तिर्न आदेश दिएको छ । यो आदेशसँगै लामो समयदेखि एम्बाप्पे र पीएसजीबीच चलिरहेको विवादको अन्त्य भएको छ । एम्बाप्पेले पीएसजीले आफ्नो अन्तिम समयको पारिश्रमिक र बोनस नदिएको भन्दै अदालत गएका थिए । अनुसन्धानको क्रममा अदालतले २०२४ को अप्रिल, मे र जुनको पारिश्रमिक र बोनस नदिएको पाइएको जनाएको छ । त्यस्तै अदालतले पीएसजीले एम्बाप्पेविरुद्ध दायर गरेको ५१८ मिलियन डलरको मानहानी मुद्धा खारेज गरिदिएको छ । पीएसजीले एम्बाप्पे फ्री-ट्रान्सफरमा रियल म्याड्रिड जादा क्लबलाई नोक्सान भएको भन्दै सो मुद्धा दायर गरेको थियो । एम्बाप्पे पीएसजीमा २०१७ देखि २०२४ सम्म खेलेका थिए । २०२३-२४ को सिजन पछि उनी रियल म्याड्रिडमा फ्री-ट्रान्सफरमा गएका थिए ।

२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशहरू थपेको छ । यसले अन्य धेरै देशहरूमा पनि नयाँ प्रतिबन्धहरू लगाएको छ । ट्रम्प प्रशासनले जारी गरेको आदेश यसको आप्रवासन नीतिलाई कडा बनाउने निरन्तर प्रयासहरूको एक हिस्सा हो । यो निर्णय अफगान मूलका एक व्यक्तिले वाशिंगटन, डीसीमा दुई राष्ट्रिय गार्ड सैनिकहरूलाई गोली हानेपछि पनि आएको हो । जुन महिनाको सुरुमा, राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए र अन्य सात देशका मानिसहरूमाथि धेरै प्रतिबन्धहरू लगाएका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि यस्तै नीति अपनाएका थिए । यात्रा प्रतिबन्धको अधीनमा रहेका १२ देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश थिए भने बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरू कडा प्रतिबन्धमा थिए । अब ट्रम्प प्रशासनले यस सूचीमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियालाई पनि समावेश गरेको छ । सरकारले प्यालेस्टिनी प्राधिकरणद्वारा जारी गरिएको यात्रा कागजात भएका व्यक्तिहरूलाई संयुक्त राज्य अमेरिका यात्रा गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । आंशिक प्रतिबन्धहरूको सामना गर्ने देशहरूको सूचीमा अब थप पन्ध्र देशहरू थपिएका छन्। यसमा अंगोला, एन्टिगुवा र बारबुडा, बेनिन, कोट डी’आइवर, डोमिनिका, गाबोन, गाम्बिया, लावी, मौरिटानिया, नाइजेरिया, सेनेगल, तान्जानिया, टोंगा, जाम्बिया र जिम्बाब्वे समावेश छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?