पौष १० गते २०८२ --:--:--
मेनु

त्रिविको दीक्षान्त समारोह आज दशरथ रंगशालामा, ८९ हजार विद्यार्थी दीक्षित हुदै

मेरो आर्थिक मेरो आर्थिक पौष १० गते २०८२ ७:१४ AM
त्रिविको दीक्षान्त समारोह आज दशरथ रंगशालामा, ८९ हजार विद्यार्थी दीक्षित हुदै

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज काठमाडौंस्थित दशरथ रंगशालामा हुदैछ । समारोहमा १६ हजार ३३८ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आवेदन दिएर शुल्क बुझाएका विद्यार्थीलाई समारोहमा सहभागी गराइने परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिएका छन् ।

२०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि प्राप्त गर्ने ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित हुने कार्यालयले जनाएको छ । समारोहमा सहभागी हुन भने उत्तीर्णमध्ये १८.३१ प्रतिशत छात्रछात्राले मात्र इच्छा देखाएका हुन् । सहभागी विद्यार्थीका लागि पुस १ गतेदेखि ८ गतेसम्म गाउन तथा स्कार्फ वितरण गरिएको थियो । त्रिविका मेडिकल, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, वन, कृषि तथा पशु विज्ञान, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान र कानुन गरी ९ संकायमा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडीसम्मका कार्यक्रम सञ्चालनमा छन् । 

दीक्षान्त समारोहमा त्रिविले २५ दीक्षान्त पदक तथा पुरस्कार वितरण गर्ने जानकारी दिएको छ । 

त्रिविको यस दीक्षान्त समारोहमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुदैछन् । समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति महावीर पुन पनि समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुदैछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?