फागुन ३ गते २०८२ --:--:--
मेनु

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

मेरो आर्थिक मेरो आर्थिक फागुन ३ गते २०८२ ९:२१ PM
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताएका छन् । काठमाडौंबाट झापाका चुनावी कार्यक्रमका लागि आउने क्रममा भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनि नसकेको बताएका हुन् । यस बारेमा सरकारले धेरै कुरा जान्नुपर्ने उनको भनाइ छ । उनले भने- ‘चुनाव हुने भए हामी भाग लिन्छौं। चुनावको वातावरण सरकारले बनाउने हो। हामी यसै भन्न सकेनौं । चुनाव हुन्छ भन्ने ठान्छौं अब हामी ।’ साथै ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने दाबी गरेका थिए ।

२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच बुँदे नागरिक करार सार्बजनिक गरेको छ । फागुन २१ गते हुने चुनाव केन्द्रीत घोषणा पत्रको रुपमा रास्वपाले नागरिक करार सार्बजनिक गरेको हो । रास्वपाले आफ्नो प्राथमिकताका पाँच क्षेत्र र लक्ष्यसहित नागरिक करार सार्बजनिक गरेको छ । जसमा सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम, कनेक्टभिटी र प्रवास गरी पाँच प्राथमिकताका क्षेत्र छुट्याएको छ । रास्वपाले नीति, आचरण र संस्थागत सुधारका लागि ‘भ्रष्टाचार विरोधी महाअभियान’ मार्फत विश्वसनीय, सदाचारी राज्य निर्माण गर्दै, सरकारी सेवाहरूको सर्वव्यापी डिजिटल डेलीभरी (लाइन होइन अनलाइन) सहित ट्रान्सपेरेंसीको भ्रष्टाचार सूचकाइमा भारी सुधार गर्ने, दलीयकरणको अन्त्य र २०४६ देखिकै सम्पत्ति छानविन गर्न उच्चायोग गठन गर्ने लक्ष्य राखेको छ । त्यस्तै औसत वार्षिक प्रतिव्यक्ति आय ३००० डलर नघाउन कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर (प्रचलित मूल्यमा) पुर्याउने, शत प्रतिशत बीमा गरिएको गुणस्तरीय स्वास्थ्य सेवा सार्वजनिक शिक्षाको आमूल सुधार गर्ने, जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित ‘एकीकृत सामाजिक सुरक्षा को ग्यारेन्टी आधुनिक बैंकिंगसहित वित्तीय सेवाहरुमा सबै नागरिकको पहुँच लगायत सख्त नियमनभित्रको सहकारी र लघु वित्त, मिटर व्याज शोषणको अन्त्य गर्ने दोस्रो लक्ष्य तय गरेको छ । तेस्रो लक्ष्यमा बाध्यात्मक पलायन घटाउन औपचारिक, सम्मानित, सुरक्षित र समावेशी १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने तथा आइटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा व्यापारलाई प्राथमिकताका क्षेत्रमा राख्ने लक्ष्य लिएको छ । चौथो लक्ष्यमा प्रतिस्पर्धी अर्थतन्त्रका लागि गुणस्तरीय सड़क र हवाई सञ्जाल, भरोसायोग्य उर्जा ग्रीड र सबै बस्तीमा तीव्र गतिको सुलभ इन्टरनेट, १५ हजार मेगावाट विद्युत् जडित क्षमता, ३० हजार किमि राष्ट्रिय राजमार्ग निर्माण र १० वटा राष्ट्रिय महत्वका सिग्नेचर आयोजना सम्पन्न गर्ने लक्ष्य तय गरेको छ । त्यसैगरी पाँचौं लक्ष्यमा विदेशमा बस्ने नेपालीहरुलाई अनलाइन मताधिकार वंशजको नागरिकताको निरन्तरता, सार्वभौम डायस्पोरा फण्डको कार्यान्वयन गर्ने, सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण र मर्यादित वैदेशिक रोजगारी तय गर्ने लक्ष्य लिएको छ । रास्वपाले एकल बहुमत दिलाएको अवस्थामा पनि करार बमोजिमका सर्तहरू डेलिभरी सहित ५ वर्षभित्र बुझाउन नसकी तपाईं नागरिकलाई मर्का पर्न गएमा, संविधान, मौजुदा कानुन र सामाजिक करार अनुसार ‘राजनैतिक नैतिकता र पदबाट अर्को पटकको निर्वाचनमा सजाय दिई असुल उपर गरी लिन आग्रह गरेको छ ।

३- अमेरिकाले जारी टी-२० विश्वकपमा दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले पराजित गरेको हो । अमेरिकाले दिएको २०० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो । यो जितपछि अमेरिकाको समुह ए मा ४ खेलमा ४ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । अब अमेरिका सुपर आठमा छनौट हुन भारत र पाकिस्तान मध्ये एक टिम आफ्ना बाँकी दुवै खेलमा पराजित हुनुपर्ने छ । त्यस्तै नामिबियाले भने आफ्ना तीन खेलमा लगातार हार बेहोरेको छ । अमेरिकाले समुह चरणका सबै खेल खेलेको छ भने नामिबियाले आफ्नो अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ ।

४- ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आईतबार पार्टी अध्यक्षहरु सुदन किराती, दुर्गा सोब र सन्तोष परियार लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रलोपाका अध्यक्ष परिषदका सदस्य सन्तोष परियार, सुदन किँरातीले मुलुक चरम आर्थिक संकट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेको बताए ।उनीहरूका अनुसार गत भदौ २३–२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेख गर्दै उक्त आन्दोलनकै बलमा चुनावी अन्तरिम सरकार गठन भई संसद् विघटन भएको र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन गइरहेको जानकारी दिइयो । उनीहरूका अनुसार आगामी निर्वाचनमार्फत अग्रगामी वैकल्पिक शक्तिको सार्थक पहल सम्भव भएमा मुलुकको राजनीतिक पुनर्संरचनासहित सुशासन र समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरिएको छ। पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर २ का प्रत्यक्ष उम्मेदवार जन्मदेव जैसीका अनुसार संविधान व्यवहारतः कार्यान्वयन नहुँदा पूरा हुन नसकेका जनआकांक्षा तथा जेनजी र नेपाल सरकारबीच भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि उक्त निर्वाचन कोसेढुंगा सावित हुने छ । पार्टीले परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सपना पूरा गर्ने अठोट व्यक्त गर्दै पार्टीले निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि आम जनसमुदायलाई अपिल गरेको छ । प्रलोपा नेतृत्वले हाल अभ्यासमा रहेको लोकतन्त्रले जनतालाई पाँच वर्षमा एक पटक मतदान गर्ने अधिकारमा मात्र सीमित गरेको आरोप लगाएको छ। लोकतन्त्रका नाममा दलतन्त्र, गुटतन्त्र र नेतातन्त्र मौलाएको जनगुनासो बढिरहेको उल्लेख गर्दै पार्टीले ‘प्रगतिशील लोकतन्त्र’ को अवधारणा अघि सारेको जनाएको छ । पार्टीका अनुसार यसको मूल आधार पूर्ण समावेशीता, सामाजिक न्याय र समता, जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता तथा अग्रगामी परिवर्तनमा आधारित हुनेछ । प्रलोपा नेतृत्वले पुराना दलहरू वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्यांकन गर्न असफल भएको आरोप लगाउँदै आफूहरूसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम रहेको दाबी गरेको छ । प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक रूपान्तरणको ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै आफूलाई अग्रगामी वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

५- भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले भारत-अमेरिका व्यापार सम्झौताको सम्बन्धमा केन्द्र सरकारसँग पाँच प्रश्न गरेका छन् । भारत सरकारले अमेरिकासँगको व्यापार सम्झौताको नाममा, भारतीय किसानहरूलाई धोका दिएको भन्दै उनले पाँच प्रमुख प्रश्न उठाएका छन् । १. डिडिजी आयात गर्नुको अर्थ के हो ? के यसको अर्थ भारतीय गाईवस्तुहरूलाई आनुवंशिक रूपमा परिमार्जित (जीएम) अमेरिकी मकैबाट बनेको डिस्टिलरको अन्न खुवाइनेछ ? के यसले हाम्रा दुग्ध उत्पादनहरूलाई अमेरिकी कृषि उद्योगमा प्रभावकारी रूपमा निर्भर गर्दैन ? २. यदि हामीले जीएम भटमास तेलको आयातलाई अनुमति दियौं भने, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान र देशभरका हाम्रा भटमास किसानहरूको के हुनेछ ? ३. जब तपाईं ‘अतिरिक्त उत्पादन’ भन्नुहुन्छ, त्यसमा के समावेश छ? के यसले समयसँगै अमेरिकी आयातमा दाल र अन्य बालीहरू खोल्ने दबाबलाई संकेत गर्छ ? ४. गैर-व्यापार अवरोधहरू हटाउनुको अर्थ के हो ? के भविष्यमा भारतलाई जीएम बालीहरूमा आफ्नो अडान खुकुलो पार्न, खरिद प्रक्रियालाई कमजोर बनाउन, वा एमएसपी र बोनस घटाउन दबाब दिइनेछ ? ५. यो ढोका खुलेपछि, हामी यसलाई प्रत्येक वर्ष थप खोल्नबाट कसरी रोक्नेछौं ? के यसलाई रोकिनेछ, वा सम्झौता हुँदा प्रत्येक पटक अन्य बालीहरू बिस्तारै टेबलमा राखिनेछ ? राहुल गान्धीले किसानहरूले यी प्रश्नहरूको जवाफ पाउनुपर्ने माग गरेका छन् । उनले यो आजको बारेमा मात्र होइन नभएर भविष्यको बारेमा पनि भएको बताएका छन् । उनले अर्को देशलाई भारतको कृषि उद्योगमा दीर्घकालीन पकड प्राप्त गर्न अनुमति दिइरहेका छौं ? भन्दै प्रश्न गरेका छन् ।

६- नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गरेका छन् । जनतासँगको भेटघाटका क्रममा उनले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताए । उनले भने- ‘परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यस पटक म विकासका लागि तपाइँहरूको माझमा उम्मेदवारको टिकट लिएर आएको छु । मत दिएर विजयी गराउनुहोला ।’ उनले स्वाधीन र समृद्ध नेपाल निर्माण पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन आवश्यक रहेको बताए । उनले भने- ‘म स्वाधीन समृद्ध नेपाल निर्माणका लागि भिजन लिएर आफ्नो आधारभूमिका जनतासमक्ष नयाँ ऊर्जा लिन आएको हुँ ।’ कार्यक्रममा स्थानीय बासिन्दाहरूले उल्लेख्य उपस्थित भई संयोजक प्रचण्डलाई स्वागत गरेका थिए । सहभागीहरूले आफ्नो क्षेत्रको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुदृढीकरणका विषयमा चासो व्यक्त गरेका थिए ।

७- जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा जावलाखेल युथ क्लबले चर्च ब्वायज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । जावलाखेलको जितमा धर्मेन्द्र कुँवर, निकोलस ओडाने हमिल्टान र सुजन गुरुङले एक एक गोल गरेका थिए । यसअघि पहिलो क्वाटरफाइनलमा आयोजक सहारा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेर सेमिफाइनलमा पुगिसकेको छ । अब तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सिक्किमको ठण्डरबोट युनाइटेडबीच सोमबार हुने छ । त्यस्तै चौथो क्वाटरफाइनल खेल प्लानिङ ब्वायज युनाइटेड र उज्बेकिस्तानको एभिए फुटबल क्लबबीच मंगलबार हुने तालिका रहेको छ ।

८- सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्गमा आइतबार भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ । सोलुखुम्बुबाट काठमाडौतर्फ जाँदै गरेको ना.१ ज ४६२३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब ८ बर्षका अषिक बयलकोटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा गोलन्जोर आधारभूत अस्पतालमा दिउँसो ३:३५ बजे मृत्यु घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सुमो चालक गोपाल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको मृत्यु पछि स्थानीयले मध्य पहाडी लोकमार्ग अवरुद्ध गरेका छन् ।

९- उज्यालो नेपाल पार्टीले फागुन २१ मा हुने चुनावका लागि चुनावी प्रतिबद्धता सार्बजनिक गरेको छ । आइतबार सार्बजनिक गरिएको प्रतिबद्धतामा प्रतिनिधि सभाको संख्या २७५ बाट घटाएर २०१ गर्नेदेखि प्रदेश सभालाई ५५० बाट ३३० बनाउने बताएको छ । उज्यालो नेपाल पार्टीले केन्द्रमा १५ र प्रदेशमा ५ देखि ७ जना सम्मको मन्त्रालय राख्ने तथा राज्यमन्त्री र सहायक मन्त्री राख्न नपाउने प्रस्ताव गरेको छ । प्रतिबद्धतामा भनिएको छ- ‘शासन खर्च घटाउन प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेशसभा ५५० बाट ३३० मा कटौती गर्ने, सङ्घीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ मा सीमित गर्ने र राज्यमन्त्री तथा सहायकमन्त्री नराख्ने प्रस्ताव गरिएको छ । प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणासमेत समेटिएको छ । साथै सरकार गठन भएपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको प्रगति रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।’ उज्यालो नेपाल पार्टीले प्रतिबद्धता पत्रमा संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारबिरुद्ध सून्य सहनशीलता कायम गरिने उल्लेख गर्दै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ । त्यस्तै सुशासनतर्फ सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गर्ने, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक अनलाइन सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने व्यवस्था अघि सारिएको छ । उज्यालोले समृद्धितर्फ स्वदेशी पूँजी परिचालन गर्दै निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य विस्तार गर्ने, र आवश्यक प्राथमिकता क्षेत्रहरूमा वैदेशिक लगानी आकर्षित गर्ने नीति अवलम्बन गरिएको उल्लेख गरेको छ । त्यस्तै २०३० सम्म कुल गार्हस्थ उत्पादन ७० अर्ब अमेरिकी डलर र २०३५ सम्म १११ अर्ब अमेरिकी डलर पुर्याउने, २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने, निर्यातलाई २०३० मा १० अर्ब डलर र २०३५ सम्म २० अर्ब डलरसम्म विस्तार गर्ने, तथा प्रतिवर्ष करिब १० लाख थप रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको छ । साथै ऊर्जा क्षेत्रमा २०३० सम्म जलविद्युत उत्पादन १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट पुर्याई भारत, बंगलादेश र चीनतर्फ निर्यात वृद्धि गर्ने, साथै जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटीलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता गरिएको छ । कृषि उत्पादन प्रवर्द्धन र निर्यातका लागि नियमनलाई चुस्त बनाउने, किसानमैत्री बजार र मूल्य सुनिश्चितता बढाउने, तथा पर्यटनलाई धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा र उपचारको गन्तव्य र साहसिक खेलको राजधानीका रूपमा विकास गर्दै पर्यटक आकर्षण बढाई वार्षिक १० अर्ब डलर राजस्व प्राप्त गर्ने लक्ष्य राखिएको छ । रोजगारी सिर्जनाका लागि देशभर युवा स्व-रोजगारी अभियान, न्यून ब्याजमा ऋण, र ५ लाख रुपैयाँसम्मको स्टार्टअप अनुदानमार्फत युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने प्रतिवद्धता गरिएको छ । सेवा सुधारका लागि डिजिटल इकोसिस्टम, कानूनी सहजता, एकद्वार प्रणाली र विपद् जोखिम न्यूनीकरणलाई जोड दिँदै राज्य सञ्चालनलाई परिणाममुखी बनाउने प्रस्ताव राखिएको छ । उज्यालोले २०२३० सम्म २० लाख र २०३५ सम्म ५० लाख विदेशी पर्यटक भित्राउने दाबी गरिएको छ भने २०३५ सम्म २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र विद्युत निर्यातबाट बार्षिक ५ अर्ब डलर आम्दानी गर्ने बताइएको छ । पार्टीले यो प्रतिबद्धता पत्र सम्बन्धित क्षेत्रका विज्ञ, अभ्यासकर्ता लगायत सरोकारवालासँग घनिभूत छलफल गरी, विभिन्न गुणस्तरीय स्रोत सामग्रीका तथ्य तथा तथ्यांकलाई विस्तृत अध्ययन गरेर तयार पारिएको बताएको छ । प्रतिबद्धतामा जसरी नेपालमा कुशल व्यवस्थापनमार्फत केही महिनामै १८ घण्टाको लोडसेडिङ स्थायी रूपमा अन्त्य गरियो, त्यसैगरी देशमा विद्यमान अन्य अँध्याराहरू पनि योजनाबद्ध ढंगले छिटो अन्त्य गर्दै आम सर्वसाधारणको जीवनमा उज्यालो ल्याउने दृढ संकल्पसहित यो कार्यान्वयनयोग्य प्रतिबद्धता पत्र जारी गरिएको उल्लेख छ ।

१०- जारी टी-२० विश्वकपमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । आइतबार सम्पन्न वेस्ट इण्डिजसँग नेपाल ९ विकेटले पराजित भएको हो । नेपालले दिएको १३४ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वेस्ट इण्डिजका लागि शाइ होपले अविजित ६० रन बनाए भने शिमरोन हिटमायरले अविजित ४६ रन बनाएका थिए । त्यस्तै ब्राण्डन किंगले २२ रन बनाएका थिए । नेपालका लागि एक विकेट नन्दन यादवले लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शानदार अर्धशतकीय पारी खेल्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । दिपेन्द्र विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् । ऐरीले ४७ बलमा ५८ रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले अविजित २६ रन बनाए भने लोकेश बमले १३, गुलशन झा र आसिफ सेखले ११- ११ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १, कप्तान रोहित पौडेलले ५, आरिफ सेखले २ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिजका बलर जासन होल्डरले ४ विकेट लिए भने अकील हुसैन, माथ्युज फोर्ड, शामर होल्डर र रोस्टन चेजले एक एक विकेट लिएका थिए । यो जितपछि वेस्ट इण्डिजले लगातार तीन जित हासिल गर्दै सुपर आठमा पुगेको छ । त्यस्तै नेपाल भने विश्वकपमा सुपर आठको दौडबाट बाहिरिएको छ । अब नेपालले आफ्नो अन्तिम खेल स्कटल्याण्डविरुद्ध मंगलबार खेल्ने छ ।

११- अमेरिकी विदेश मन्त्री मारको रुबियोले ईरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् । उनले ईरान अमेरिका, युरोप, मध्यपूर्व क्षेत्र र विश्व शान्तिका लागि खतरा रहेको दाबी गरेका हुन् । जर्मनीको म्युनिखमा आयोजित म्युनिख सेक्युरिटी कन्फेरेन्सका क्रममा ब्लूमबर्गसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । रुबियोका अनुसार मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्ने क्षमता र इच्छा ईरानले देखाएकाले अमेरिका उक्त क्षेत्रमा आफ्नो सेना कायम राख्न चाहन्छ । उनले मध्यपूर्वमा अमेरिकाका सहयोगी देशहरू तथा सैन्य आधारहरू रहेकाले सुरक्षा सन्तुलन कायम राख्न सैन्य उपस्थिती आवश्यक रहेको बताए । उनले थपे- ‘ईरानको कुनै गल्तीका कारण ठूलो द्वन्द्व नहोस् भन्ने उद्देश्यले अमेरिका सावधानीपूर्वक आफ्नो उपस्थिति कायम राख्न चाहन्छ ।’ यसैबीच उनले डोनाल्ड ट्रम्पको प्राथमिकता ईरानसँग सम्झौता गर्नु रहेको पनि उल्लेख गरे । उनले यस्तो सम्झौता कठिन भए पनि अमेरिका प्रयास जारी राख्ने बताए ।

१२- नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए भने प्रधानमन्त्री सुशिला कार्कीलगायतका विशिष्टहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा मार्च पास्ट, नेपाली सेनाका हातहतियार तथा उपकरणहरुको प्रदर्शन, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरु प्रदर्शन गरिएको थियो। त्यस्तै मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरुका प्रस्तुति पनि कार्यक्रममा राखिएका थिए । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको सिलसिलामा विसं १८१९ मा नेपाली सेनाको गठन भएको थियो। त्यस वर्ष नेपाली सेनाका श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी खडा गरिएका थिए । नेपाल राज्यका पुराना संस्थाहरुमध्ये नेपाली सेना पनि एक हो ।

१३- नेपाल महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगिता अन्तर्गत युएईसँग पराजित भएको छ । आइतबार सम्पन्न खेलमा युएईले नेपाललाई १८ रनले पराजित गरेको हो । युएईले दिएको १९० रनको विशाल लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले ५८ र कप्तान पुजा महतोले ५३ रन बनाएकी थिइन् भने सिता राना मगरले २२ तथा बिन्दु रावलले १६ रन बनाएकी थिइन् । यसअघि युएईले टस हारेर पहिला ब्याटिंग गर्दै २२० ओभरमा ४ विकेट गुमाउदै १८९ रन बनाएको थियो । युएईका लागि कप्तान इशा ओजाले शतकीय पारी खेल्दै अविजित १२५ रन बनाएका थिए । त्यस्तै हीना हटचन्दानदानीले अविजित ४५ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ र कबिता कुँवरले एक विकेट लिएकी थिइन् । यो नेपालको लगातार दोस्रो हार हो । यस अघि पहिलो खेलमा पाकिस्तान ए विरुद्ध हार बेहोरेको थियो । त्यस्तै युएईले भने लगातार दोस्रो खेल जितेको छ । युएईले पहिलो खेलमा भारत ए लाई पराजित गरेको थियो । नेपालले अब तेस्रो फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने तालिका रहेको छ ।

१४- उत्तरपश्चिमी नाइजेरियाका तीन गाउँमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले दर्जनौं मानिसहरूको हत्या गरेका छन् । स्थानीय समाचार रिपोर्टका अनुसार, देशको नाइजर क्षेत्रमा हतियारधारी व्यक्तिहरूले धेरै मानिसहरूलाई गोली हानेर वा घाँटी काटेर घरहरूमा आगो लगाएको उल्लेख गरेका छन् । रिपोर्टमा कम्तिमा ३० जनाको हत्या भएको बताइएको छ । यसका साथै, धेरै मानिसहरूलाई अपहरण गरिएको थियो। अपहरण गरिएकाहरूको संख्या यकिन नभएको बताइएको छ । शनिबार बिहानको आक्रमण यस महिनाको सुरुमा भएको शंकास्पद जिहादी नरसंहार स्थल नजिकै भएको थियो । यो नरसंहारले १०० भन्दा बढी मानिसहरूको ज्यान लिने यस्तै आक्रमण पछि भएको थियो । डाकु भनेर चिनिने सशस्त्र आपराधिक गिरोहहरूले धेरै वर्षदेखि नाइजेरियामा आक्रमण र अपहरण गर्दै आएका छन् । पछिल्ला दिनहरूमा पश्चिमी र मध्य क्षेत्रहरूमा यस्ता घटनाहरू तीव्र रूपमा बढेका छन् ।

१५- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २३ सयले बढेर तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४९८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५००० मा कारोबार भएको थियो ।

१६- बंगलादेशमा गठन हुन लागेको नयाँ सरकारको शपथ समारोहमा दक्षिण एसियाली क्षेत्रका करिब एक दर्जनभन्दा बढी सरकार प्रमुखलाई निम्ता पठाइने भएको छ । निम्तो पाउने नेताहरूमा भारत, पाकिस्तान, नेपालसहितका राष्ट्रप्रमुख रहेका छन् । बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का अन्तर्राष्ट्रिय विभागका पदाधिकारीका अनुसार मंगलबार हुने समारोहका लागि दक्षिण एसिया तथा अन्य एशियाली देशका नेताहरूलाई निम्ता पठाइएको हो, जसमा चीन पनि समावेश रहेको डेली स्टारले उल्लेख गरको छ । दलका प्रतिनिधिहरूले नयाँ सरकार बनेपछि भारतसहित अन्य देशसँग पारस्परिक सम्मान र हितका आधारमा द्विपक्षीय सम्बन्ध सुधार गरिने बताएका छन् । विहिबार सम्पन्न निर्वाचनमा बीएनपीले २९९ सिटमा २१२ सिट जितेको थियो । त्यस्तै तत्कालिन सेख हसिना सरकारलाई सत्ता च्युत गर्ने विद्यार्थीहरुको दलले भने केवल ६ सिट मात्र जितेको छ ।

१७- इन्डोनेसियाको सुलावेसी टापुमा फेला परेको विशाल पोथी जालीदार अजिंगरले वन्यजीव संसारमा नयाँ इतिहास रचेको छ । ‘इबु बैरोन’ नाम दिइएको यस सर्पलाई गिनिज वर्ल्ड रेकर्डसले आधिकारिक रूपमा अहिलेसम्म मापन गरिएको संसारकै सबैभन्दा लामो जंगली सर्प घोषणा गरेको छ । यसको लम्बाइ २३ फिट ८ इन्च र तौल करिब २१३ पाउन्ड अर्थात् ९६.६ किलो रहेको छ । लामो समयदेखि बालीमा बस्दै आएका प्रकृति छायाचित्रकार राडू फ्रेंटियुले यसको खोज गरेका हुन् । उनले जीवनमा यति ठूलो सर्प पहिले कहिल्यै नदेखेको बताएका छन् । वन विनाश र शिकारको कमीका कारण इन्डोनेसियामा ठूला सर्प मानव बस्ती नजिक देखिन थालेका छन् । जालीदार अजिंगर विषालु नभए पनि अत्यन्त शक्तिशाली हुने भएकाले पशु चौपायामा आक्रमण गर्न सक्छ र दुर्लभ अवस्थामा मानिसमाथि पनि हमला गरेका घटनाहरू छन् । समाचार सार्वजनिक भएपछि संरक्षणकर्मी बुडी पुरवान्टोले सर्पलाई बेचिन वा मारिनबाट जोगाउँदै अस्थायी आश्रय बनाएका छन् । हाल यो अन्य उद्धार गरिएका सर्पहरूसँग सुरक्षित रूपमा राखिएको छ, किनकि जंगलमा फर्काउँदा पर्याप्त आहार नपाइने जोखिम रहेको बताइएको छ ।

१८- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने गोन्जालो गार्सिया र फेडेरिको भालभर्डेले एक एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको २४ खेलमा ६० अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोना २३ खेलमा ५८ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी रियल सोसियडाडको २४ खेलमा ३१ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

१९- क्रिस्टियानो रोनाल्डो अल नासरमा फर्किएर खेलेको खेलमा गोल गर्दै जित दिलाएका छन् । गएराती सम्पन्न अल फातेहविरुद्धको खेलमा अल नासरले २-० गोलको जित हासिल गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र आयमान याहयाले एक एक गोल गरेका थिए । रोनाल्डो यसअघि क्लब व्यवस्थापनप्रति असन्तुष्ट हुदै तीन खेलमा खेलेका थिएनन् । यस खेलमा फर्किना साथ उनले गोल गर्दै आफ्नो क्यारियरको गोल संख्या ९६२ गोल गरेका छन् । यो जितपछि अल नासरको २१ खेलमा ५२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको अल हिलाल एक अंकले अगाडी रहेको छ । त्यसैगरी अल फातेहको २१ खेलमा २४ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

२०- दक्षिण अफ्रिकाले जारी टी-२० विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई ७ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १७६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १७.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा कप्तान एडीन मार्क्रामले अविजित ८६ रन बनाएका थिए । त्यस्तै यस अघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । यो जितपछि समुह डी मा लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंक हासिल गरेर सुपर आठमा पुग्ने निश्चित भएको छ । त्यस्तै न्यूजील्याण्डको ३ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । अब दक्षिण अफ्रिकाले आफ्नो समुह चरणको अन्तिम खेलमा बुधबार युएईसँग खेल्ने छ भने न्यूजील्याण्डले मंगलबार क्यानडाको सामना गर्ने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?