काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको उच्चस्तरीय सुरक्षा टोली सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा अनुगमनमा निस्किएको छ ।
उनीसँग गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसहितको टोली सहभागी रहेको छ । टोलीले बाँके, बझाङ, बाजुरा र धनगढीका मतदान केन्द्र र सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन गर्ने छ ।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार टोलीले मतदान केन्द्रको सुरक्षा, समग्र निर्वाचनको वातावरण र सम्बन्धित सुरक्षा निकायको तयारी मूल्यांकन गर्दै आवश्यक निर्देशन दिनेछ ।
यसअघि शुक्रबार गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले दोलखा, ओखलढुंगा, मोरङ, रौतहट र पर्शामा निर्वाचन तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दल र मतदान अधिकृतसँग छलफल गरेको थियो ।
मन्त्रालयले सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा रणनीति प्रभावकारी बनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत योजना २०८२ अन्तर्गत निर्वाचन अघि, अवधिमा र पछि मतपत्र सुरक्षा सुनिश्चित गर्दै निर्वाचन तयारी पूरा गरिएको जनाएको छ ।













