काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित नेपाली सेनाको अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेको थियो ।
फागुन १८ गते रामेछाप नगरपालिका-२ सिरुबारीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । मन्थलीबाट कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी लिएर जाँदै गरेको ना. ७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मतदान अधिकृत डोरप्रसाद घिमिरे र नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको ज्यान गएको प्रहरीले जनाएको छ। गाडीमा कुल ११ जना सवार रहेको बताइएको छ ।
घाइतेहरूलाई उद्धार गरेर छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सक नेपाली सेनाका सहायकरथी डा. नम्रता महराका अनुसार पूजा सुनुवारको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । अन्य घाइते भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन्। घाइतेमध्ये चार महिला र तीन पुरुष रहेका छन् ।
भेटका क्रममा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनीसँगै गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्ले लगायत उच्च अधिकारीहरू पनि अस्पताल पुगेका थिए ।













