काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा देशभर ७०० जना राष्ट्रिय पर्यवेक्षक परिचालन गरिएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले विगतका निर्वाचनको अनुभवअनुसार यस पटक पनि दीर्घकालीन र अल्पकालीन पर्यवेक्षण जारी राखेको जनाएको छ ।
यस पटकको निर्वाचनमा सामाजिक सञ्जालको व्यापक प्रयोग भएकाले, इओसी नेपालले डिजिटल माध्यमबाट आचारसंहिता उल्लङ्घनको सूक्ष्म निगरानीका लागि केन्द्रिय कार्यालयमा विशेष प्राविधिक टोली स्थापना गरेको छ । यस टोलीले विभिन्न सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा देखिएका उल्लङ्घनका घटनाहरूको दर्ता, अध्ययन र निगरानी गरिरहेको छ ।
सार्वजनिक जानकारीका लागि इओसी नेपालले ‘इलेक्सन वाच २०८२’ नामक विशेष वेभपेज सञ्चालनमा ल्याएको छ । यसमार्फत माघ १८ गतेदेखि सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यममा देखिएका आचारसंहिता उल्लङ्घनका घटनाहरू अद्यावधिक गरिँदै आएको छ। नागरिकहरूले उल्लङ्घनको विवरण https://watch.eocnepal.org.np मा गएर हेर्न सक्ने व्यवस्था गरिएको जनाएको छ।
गएको राति १२ बजेदेखि सुरु भएको मौन अवधि बाबजुद पनि डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार, उम्मेदवार वा दलको पक्षमा मत प्रभावित गर्ने सामग्री तथा भ्रामक सन्देशहरू निरन्तर प्रसारित भइरहेको छ।
इओसी नेपालले निर्वाचन आयोग, नेपाल सरकारसँग आचारसंहिता विपरित गतिविधि रोक्न, निर्वाचन प्रक्रिया कडाइका साथ निगरानी गर्ने, र सुरक्षा व्यवस्थापन चुस्त बनाउने आग्रह गरेको छ। साथै, सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, समर्थक र आम नागरिकलाई आचारसंहिताको पूर्ण पालना गरी स्वतन्त्र, स्वच्छ, विश्वसनीय र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन सहयोग गर्न हार्दिक अपिल गरेको छ।












