फागुन २३ गते २०८२ --:--:--
मेनु

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपति नाहयनबीच टेलिफोन संवाद

मेरो आर्थिक मेरो आर्थिक फागुन २३ गते २०८२ ५:१३ PM
प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपति नाहयनबीच टेलिफोन संवाद
(Abu Dhabi - EAU, 15/11/2021) Visita ao Príncipe Herdeiro de Abu Dhabi, Mohamed bin Zayed. Foto: Alan Santos/PR

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहमद बिन जायेद अल नाहयनसँग टेलिफोन संवाद गर्दै वर्तमान क्षेत्रीय तनावबारे छलफल गरेकी छन् ।

संवादका क्रममा प्रधानमन्त्री कार्कीले पवित्र रमजान पर्वको अवसरमा शान्ति, न्याय र सद्भावको कामना व्यक्त गरेकी थिइन् । साथै संयुक्त अरब इमिरेट्सको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी गरिएका आक्रमणको निन्दा गर्दै यस कठिन परिस्थितिमा नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरेकी थिइन् ।

उनले सम्बन्धित सबै पक्षलाई संयम अपनाउन, तनाव थप नबढाउन तथा सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादमार्फत मात्र दिगो शान्ति सम्भव हुने बताएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले संयुक्त अरब इमिरेट्स सरकारले सार्वजनिक सुरक्षा कायम राख्दै त्यहाँ बसोबास गर्ने तथा काम गर्ने नेपालीसहित सबै बासिन्दाको हेरचाह गरेकोमा आभार व्यक्त गरेकी थिइन् । गत मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा कामका क्रममा एक नेपाली नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले मार्च ५ मा अबुधाबीको औद्योगिक क्षेत्रमा दुई नेपाली घाइते भएको खबरले चिन्ता बढाएको बताएकि थिइन् ।

उनले क्षेत्रीय तथा विश्वस्तरमा शान्ति र विकासका लागि संयुक्त अरब इमिरेट्सले गरेको कूटनीतिक प्रयासको प्रशंसा गर्दै आगामी दिनमा आर्थिक सहकार्य तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन ।

संवादका क्रममा प्रधानमन्त्री कार्कीले नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको प्रभाव भोगिरहेको उल्लेख गरिन् । उनका अनुसार नेपाली नागरिकको सुरक्षा, बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा कमी र मुद्रास्फीति जस्ता आर्थिक चुनौती नेपालले सामना गरिरहेको छ ।

यता संयुक्त अरब इमिरेट्सका राष्ट्रपति अल नाह्यानले कठिन परिस्थितिमा नेपालले देखाएको मित्रवत् समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो। जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा एक नेपाली नागरिकले ज्यान गुमाएकोमा उनले गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका थिए ।

उनले नेपाल र संयुक्त अरब इमिरेट्सबीचको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै पाली नागरिकको मेहनती स्वभाव र अनुशासनको प्रशंसा गरेका थिए । साथै दुवै देशका राजदूतहरूले नेपाली नागरिकको सुरक्षा र हित संरक्षणका लागि आवश्यक पहल गरिरहेको जानकारी पनि दिए ।

केही नेपाली स्वदेश फर्कन इच्छुक रहेको जानकारी आफूलाई प्राप्त भएको उल्लेख गर्दै परिस्थिति सहज भएपछि उनीहरूको आवागमनका लागि आवश्यक सहजीकरण गरिने विश्वाससमेत व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?