काठमाडौं । क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१३ एकान्तकुना बस्ने भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भएका ४१ वर्षीय प्रवेश अली, काठमाडौं महानगरपालिका-६ बौद्ध जोरपाटी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-२० घर भएका ३१ वर्षीय नरेश रेउले र ललितपुर महालक्ष्मी नगरपालिका-२५ नख्खु बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर घर भएका ३० वर्षीया दिप्ती पोखरेल रहेका छन् ।
हुण्डी तथा अभौतिक मुद्रा समेतको अवैध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेशलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको थियो । सोधपुछको क्रममा उनले दिप्ती र प्रवेशको लागि युएसडीटी खरिद बिक्री गर्ने गरेको भन्ने खुल्न आए पश्चात दिप्तीलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीस्थित रेडहनपुलबाट नगद १५ लाख ३० हजार रूपैयाँ सहित र प्रवेशलाई ललितपुर महानगरपालिका-१३ एकान्तकुनाबाट प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा प्रवेशले आफ्नो मोबाइलबाट बिनान्स आइडी प्रयोग गरी हाल सम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रूपैयाँ ४ पैसा रकम बराबरको कारोबार गरेको खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।













