सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
बिदाका दिन कुन कार्यालय खोल्ने भन्ने विषयलाई मन्त्रिपरिषद्को प्रशासनिक समितिले टुङ्गो लगाउने छ । अबदेखि त्यस्ता कार्यालय सार्वजनिक बिदा घोषणा भए पनि खुल्नेछन् ।
बिदाका दिन कुनकुन कार्यालय खोल्ने भन्ने समितिले सूचीकृत गर्नेछ, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
जनताको सेवा प्रवाहका निम्ति महत्त्वपूर्ण ठानिएका मन्त्रालय, निकायले बिदाका दिन पनि काम गर्ने निर्णय भएको छ, उहाँले भन्नुभयो । कर्मचारीलाई सट्टा बिदा दिएर भए पनि कार्यालय सञ्चालन गरिनेछ ।













