‘छक्कापञ्जा ४’को मध्यपूर्वमा राम्रो ओपनिङ
मेरो आर्थिक
फागुन २८ गते २०७९
समयः ८:३५ am
‘छक्कापञ्जा ४’ नेपाली फिल्मले मध्यपूर्वमा पहिलो सप्ताहन्तमा राम्रो ओपनिङ गरेको छ । यूएई, कतार, ओमान र बहराइनमा फिल्मको सप्ताहन्त अकुपेन्सी शतप्रतिशत देखिएको छ । गत शुक्रबारदेखि यो फिल्म ती मुलुकका ५० पर्दामा रिलिज भएको हो ।
मध्यपूर्वमा ‘छक्कापञ्जा ४’लाई स्थानीय मल्टिप्लेक्स हलहरुले आकर्षक संख्यामा शोहरु दिएका छन् । १८ अडिटोरियम भएको दुबईको स्टार सिनेमाज् मल्टिप्लेक्सले छक्कापञ्जालाई १२ शो दिएको छ ।
दुबईको भक्स सिनेमा मल्टिप्लेक्समा पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ । यूएईको अबुधाबी इलेक्ट्रा स्टार र ओस्कार सिनेमा मल्टिप्लेक्सले पनि १०–१० भन्दा बढी शो दिएका छन् । कतार, बहराइन र ओमानका हलमा समेत फिल्मको सप्ताहन्त ओपनिङ आक्रामक देखिएको छ ।
पहिलो दिन बिहीबार नै फिल्मले चार मुलुकबाट एक करोड रुपैयाँ कमाइ गरेको छ । ‘चलिरहेका हिन्दी र अंग्रेजी फिल्ममा भन्दा छक्कापञ्जा ४ मा दर्शकको चाप उच्च देखिएको छ ।
निर्माता तथा अभिनेता दीपकराज गिरीले दुबईमा समेत एकसाथ रिलिज भएका हिन्दी फिल्मभन्दा छक्कापञ्जाको शो बढी भएको र दर्शकको चाप पनि नेपाली फिल्ममै भएको बताएका छन् । मध्यपूर्वबाहेक फिल्मले अमेरिका, अष्ट्रेलिया र युरोपेली मुलुकमा समेत राम्रो कमाइ गरिरहेको छ ।
हेमराज बीसी निर्देशित फिल्ममा दीपकराज गिरीसहित दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका छ । फिल्ममा नीर शाह, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगायतको पनि अभिनय छ ।