काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन फेब्रुअरी महिनामा ८.८ प्रतिशतले बढेको छ । गत बर्षको फेब्रुअरी महिनामा भन्दा यस बर्षको फेब्रुअरीमा नेपाल आउने विदेशी पर्यटकको संख्या ८.८ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
यस बर्षको फेब्रुअरीमा कुल एक लाख ५ हजार ४४१ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को फेब्रुअरीमा यो संख्या एक लाख २ हजार ४२३ रहेको थियो ।
फेब्रुअरी महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट फेब्रुअरीमा २२ हजार ७४५ जना अर्थात २१.६ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै फेब्रुअरीमा चीनबाट दोस्रो धेरै १० हजार ८१६ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।
त्यसैगरी अमेरिकाबाट ९ हजार ७१०, श्रीलंकाबाट ७ हजार ५१५ जना, म्यानमारबाट ६ हजार ३५ जना, बेलायतबाट ५ हजार ६१८ जना, अस्ट्रेलियाबाट ४ हजार १२६ जना र थाइल्याण्डबाट ३ हजार ६३८ पर्यटक फेब्रुअरी महिनामा नेपाल आएका छन् ।
पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ३५ हजार ३४८, एशियाका अन्य देशबाट २९ हजार ८५७ जना, युरोपबाट १७ हजार ४९३ जना, अमेरिका क्षेत्रबाट ११ हजार ८१५ जना, ओसिनियाबाट १ हजार ६८० जना फेब्रुअरी महिनामा नेपाल आएका छन् ।













