प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज युएई प्रस्थान गर्दै
मेरो आर्थिक
मंसिर १३ गते २०८०
समयः ७:३३ am
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन आज (बुधबार) संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–२८ सम्मेलनका उच्चस्तरीय कार्यक्रममा सहभागी हुन युएई जान लाग्नुभएको हो ।
कोप–२८ सम्मेलन बिहीबारदेखि दुबईमा सुरु हुँदैछ । उहाँले शनिवार १६ मंसिरमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । मंसिर १५ र १६ मा प्रधानमन्त्री प्रचण्ड ‘वल्र्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुनु हुनेछ । प्रधानमन्त्री प्रचण्डले बिहीबार आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम छ । उहाँ युएईको ५२औँ एकता दिवसमा आयोजित समारोहमा सहभागी हुनुहुने छ ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनकै दौरानमा उच्चस्तरीय साइड इभेन्ट पनि आयोजना गर्दै हुनुहुन्छ । जसको नाम ‘हिमालको आवाज हामीलाई जलवायु संकटबाट कसले बचाउँछ ’ राखिएको छ । हिमालको एजेण्डालाई कोप सम्मेलनका बेला छलफलको प्रक्रियामा ध्यानाकर्षण गराउन नेपालले कार्यक्रम आयोजना गर्न लागेको नेपाली राजदूतावासले जनाएको छ ।
दुबईमा रहँदा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायसँग अधिकारको मुद्दा उठाउने बताउँदै आउनु भएको छ । नेपाल अहिले जलवायु परिवर्तनका कारण डरलाग्दो स्थितितिर जाँदै गरेकाले अन्तर्राष्ट्रिय समुदायसँग अधिकारको मुद्दा उठाउने उहाँले बताउनु भएको छ ।
प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोसमेत सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गंगा दाहाल र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनुहुनेछ ।