एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूद्वारा राजीनामा
मेरो आर्थिक
असार २० गते २०८१
समयः ६:५१ am
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै एमालेबाट मन्त्री भएकाहरूले राजीनामा बुझाएका छन् । एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रिपरिषद्मा सहभागी थिए ।
एमालेबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित नेतृत्व गरिरहनु भएको थियो । त्यस्तै, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, ज्वाला साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्र राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षामन्त्री हुनुहुन्थ्यो । बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्ने विश्वास रहेकोमा त्यसो नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीबाट मार्गप्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गरेको बताउनुभयो ।
‘राष्ट्रिय सहमतिको सरकार’ बनाउन भन्दै कांग्रेस र एमालेबीच समीकरण बनाउने समझदारीपछि एमाले सरकारबाट बाहिरिएको हो । एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ । ७९ सिट रहेको एमालेले समर्थन फिर्ता लिएपछि अब प्रचण्ड सरकारको समर्थनमा ३२ सिटको माओवादी, २१ सिटको रास्वपा, १० सिटको नेकपा एकीकृत समाजवादी, सात सिटको जसपा र ६ सिट रहेको जनमतको मात्र समर्थन बाँकी छ । अब प्रचण्डले आगामी साउन १९ भित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।