माघ २१ गते २०८२ --:--:--
मेनु

राष्ट्रिय सेवा दलमा ७ हजार ७१० जनालाई सिनियर डिभिजन तालिम

मेरो आर्थिक मेरो आर्थिक माघ २० गते २०८२ ४:४५ PM
राष्ट्रिय सेवा दलमा ७ हजार ७१० जनालाई सिनियर डिभिजन तालिम

नवलपुर । राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह हात्तीखोर, नवलपुरमा सम्पन्न भएको छ ।

दीक्षान्त समारोहकी प्रमुख अतिथि प्रधानमन्त्री सुशिला कार्कीले समारोहलाई सम्बोधन गर्दै  ‘जननी जन्मभूमिश्‍च स्वर्गादपि गरीयसी’ अर्थात् ‘जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ’ भन्‍ने उक्तिलाई आत्मसात् गर्दै चन्द्र सूर्य अङ्कित झण्डा सदैव शिरोपर गर्ने, राष्ट्र सेवामा समर्पित, अनुशासित, नैतिकवान चरित्रवान् युवाहरु नै राष्ट्रका मेरुदण्ड भएको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले सरकारले प्राथमिकताका साथ लिएको यस कार्यक्रमको लक्ष्य युवालाई अनुशासित, मर्यादित, आफ्नो देश, वेषभूषा, संस्कृति र इतिहासलाई माया गर्ने संस्कारयुक्त नागरिक बनाउनु रहेको बताएकी थिइन् । उनले राष्ट्रमा विपद्‍को अवस्थामा उद्धार, राहत लगायत कार्यमा देशैभर परिचालन गर्न सकिने तालिमप्राप्‍त स्वयंसेवक तयार गर्नु पनि यसको उद्देश्य भएको बताइन । 

प्रधानमन्त्री कार्कीले भनिन्- ‘ यसले तपाईँहरुमा नेतृत्वकला, सामूहिकता र राष्ट्रिय एकताको भावनालाई थप मजबुत गराउनेछ । आज भर्खरै प्रदर्शन भएको सुन्दर, कलात्मक र उच्चस्तरको कवाजले तपाईँहरुको अनुशासन, लगनशीलता, अभ्यास र कडा परिश्रम स्पष्ट रुपमा प्रतिविम्बित गरेको छ । तपाईँहरूमा देखिएको उत्साह र आत्मविश्‍वासले उन्‍नत समाज निर्माणको लागि तपाईँहरुजस्ता युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप प्रभावकारी हुनेमा हामी सबैलाई आशावादी बनाएको छ ।’

राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्‍चालन गरिरहेको छ ।  यस आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयहरुबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको छ । जस अन्तरगत सिनियर डिभिजनतर्फ १ हजार ८० जना र जुनियर डिभिजनतर्फ ६ हजार ६३० जना क्याडेट छात्र/छात्राहरु यस वर्ष दीक्षित भएका छन् । हालसम्म करिब ९० हजार युवाहरु एनसीसी तालिम प्राप्‍त गरी दीक्षित भएका छन् । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?