चितवन । फागुन २१ मा हुने निर्वाचनमा चितवन-३ मा नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेकी रेणु दाहालले मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
दाहालले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको भन्दै यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन नगर्न सबैमा अनुरोध गरेकी छन् ।
उनले आफु प्रतिनिधिसभाको उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त रहेको उल्लेख गर्दै यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको बताएकी छन् ।
उनले भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज अपार स्नेह पाउन सकेको अनुभूति गरेको बताएकी छन् ।
उनले निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताउदै मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनेमा उच्च मनोबल राखेको बताएकी छन् ।













