काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले पक्राउको पुष्टि गरेको हो।
नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
सोही क्रममा गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गरेका थिए। प्रारम्भमा प्रहरीले लिखित निर्देशन मागेपछि कानुन मन्त्रालयका सचिवलाई समेत मध्यरातमा प्रहरी मुख्यालय बोलाइएको थियो।
उक्त प्रतिवेदन गत भदौमा भएको जेनजी आन्दोलन को दमनसम्बन्धी घटनामाथि अध्ययन गरेर तयार पारिएको हो, जुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बुझाइएको थियो।
यद्यपि प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरिए पनि यसको केही अंश सञ्चारमाध्यममार्फत सार्वजनिक भइसकेको छ।
प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको बताइएको छ। साथै तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लाई समेत अनुसन्धानका लागि सिफारिस गरिएको छ।
प्रहरीले मुलुकी फौजदारी संहिता अन्तर्गत दफा १८१ र १८२ अनुसार अनुसन्धान अघि बढाएको जनाएको छ। यी दफाहरूमा लापरबाहीका कारण ज्यान गुमाउने घटनामा कारबाही हुने प्रावधान छ।













