काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् भने लेखकको तर्फबाट यशोदा लेखकले रिट दायर गरेकी हुन् । सर्वोच्च प्रशासनले दुवै रिट दर्ता भएको र सोमबार सुनुवाई हुने जानकारी दिएको छ ।
रिटमा कानुन विपरीत ओली र लेखकलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको छ ।
यता जिल्ला अदालत काठमाडौँले ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका ओली उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएका छन् भने लेखक प्रहरी हिरासतमा छन् ।












