पीएलओको आइपीओ निस्कासन
मेरो आर्थिक
माघ १९ गते २०७९
समयः ५:४२ am
मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड पीएलओले आईपीओ जारी गर्ने भएको छ । आगामी आर्थिक वर्षमा आईपीओ जारी गर्ने गरी पीएलओले सम्झौता गरेको छ । प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ ।
शेयर निस्कासनका लागि भएको सम्झौता पत्रमा पीएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल र क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले बुधबार हस्ताक्षर गरेका छन् । पीएलओ पब्लिक कम्पनीमा गइसकेकाले सर्वसाधारणमा शेयर जारी गर्न लागिएको प्रबन्ध निर्देशक दुलालले बताए ।
आगामी आर्थिक वर्षमा कम्पनीले ५ लाख कित्ता शेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्ने जनाइएको छ । शेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता शेयर स्थानीयवासीलाई र ५० हजार कित्ता शेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने प्रबन्ध निर्देशकले बताए ।