पिपुल हाइड्रोपावरको सुपरदोर्दी ख आयोजना निर्माण सम्पन्न
मेरो आर्थिक
माघ २५ गते २०७९
समयः ८:०३ am
पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ ।
कूल ५४ मेगावाट क्षमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न भएको छ । निर्माण सम्पन्नपश्चात् आयोजनाको इन्टेक र डिसेन्टरमा पानी राखेर परीक्षण भइरहेको छ । परीक्षण यही माघ २७ गतेसम्म गरिने र २८ गतेदेखि आयोजनाको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिनेछ ।
मुख्य सुरुङको २०/२२ दिन परीक्षण गरेपछि बिजुली उत्पादन परीक्षण थालिनेछ । पावर हाउसको मेसिन जडानको काम र केबलिङको काम लगायतको बाँकी काम सम्पन्न गर्दै सम्पूर्ण निर्माण सम्पन्न गरेको यस आयोजनाको पाँच दशमलव एक किलोमिटर मुख्य सुरुङ छ । सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग छ ।
आयोजना कूल रु आठ अर्ब ८० करोडको लगानीमा निर्माण कार्य अघि बढे पनि अवधि लम्बिँदा अनुमानित रु १० अर्ब ३९ करोड देखि ५० करोडसम्म पुगेको छ । आयोजनामा सानिमासहित नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी छ ।
विसं २०७१ मा विद्युत् खरिद सम्झौता पिपिए गरी विसं २०७२ असोजबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । उक्त समय राख्दै पटक पटक म्याद थप्दै गत पुसभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो ।
पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।