नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो ।
आज दुई सय ६२ वटा कम्पनीको ८७ लाख ३६ हजार एक सय २८ कित्ता शेयर ३६ हजार आठ सय ९३ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार पाँच सय ७१ बराबरको कारोबार भएको छ । नेप्सेका सबै सूचकहरु रातो देखिएका छन् । सेन्सेटिभ सूचक सात दशमलव २८, फ्लोट सूचक दुई दशमलव ५९ र सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २० अङ्कले घटेको छ । सबै समूहका उपसूचक पनि घटेका छन् ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेड प्रमोटर शेयर रु ३४ करोड २८ लाख १६ हजार एक सय २९ बराबरको २७ लाख ८७ हजार एक सय २३ कित्ता शेयर किनबेच भएको छ ।












