आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत मात्रै हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले यस अघिको प्रस्तावलाई संशोधन गरेको हो ।
कम्पनीले गत बैशाख १५ गते बसेको बैठकले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्ताव विद्युत नियमन आयोगमा पेश भएको निवेदनमा आवश्यक कारवाही प्राप्त भई निर्देशन अनुसार संशोधन भएको कम्पनीले जनाएको छ ।
कम्पनीले नियमन आयोगको निर्देशन अनुसार अब हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला -२ जलविद्युत आयोजनामा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्प्नीले हकप्रद शेयरबापत प्राप्त रकम सो आयोजनामा लगानी गर्नेछ भने बाँकी रहेको रकम बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्ने जनाएको छ ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिने छ ।












