यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।
आज कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर रु चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ कारोबार भएका छन् ।
आजको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरु सबै कम्पनीको बढेको छ । नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ ।
कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २७ करोड ६६ लाख ८७ हजार दुई सय ५० बराबरको पाँच लाख ५७ हजार तीन सय ८८ कित्ता शेयर किनबेच भएको छ ।












