सन् नेपाल लाइफ इन्स्योरेन्सले आज ३२ साउन बिहीबार देखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ । इन्स्योरेन्स कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरे पछी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओमा आवेदन खुलाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियमसहित कम्पनीले प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न स्वीकृति लिएको छ भने तीन अर्ब २० करोड रुपैयाँको बराबरको तीन करोड २० लाख कित्ताको ३० प्रतिशतले हुन आउने ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको र चार लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र चार लाख ८० हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको तथा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले ४ भदौसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग अनुसार आवेदन नपरेमा आवदन दिने म्याद १४ भदौसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा सेयर निष्कासन खुला गरेको छ । यस्तै कर्मचारीको लागि भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा नै सेयर जारी गरेको छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्ने जनाइएको छ ।












