माघ २२ गते २०८२ --:--:--
मेनु

लुम्बिनी अल स्टार्सले विराटनगरलाई २४ रनले पराजित गर्दै उपाधि प्राप्त

मेरो आर्थिक मेरो आर्थिक पौष २७ गते २०७९ ११:२१ AM
लुम्बिनी अल स्टार्सले विराटनगरलाई २४ रनले पराजित गर्दै उपाधि प्राप्त

पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित लुम्बिनीले रु ५५ लाख प्राप्त गरेको छ ।

यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले रु  ३० लाख पायो । लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले  निर्धारित  २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका सागर ढकाल र हरमित सिंहले समान दुई–दुई विकेट लिए भने  किशोर महतो र विपुल शर्माले समान एक–एक  विकेट लिए । विराटनगरका लागि अर्जुन साउदले  सर्वाधिक ३४ रन बनाए भने पृथु बास्कोटाले २३ रन जोडे । त्यस्तै हुसेन तालतले १३ रन बनाए ।

 टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन जोडे भने हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० तथा इशान पाण्डेले १६ रन बनाए ।

विरानगरका नन्दन यादव र  राज नाननले समान दुई–दुई  विकेट लिए भने सूर्य तामाङ, कप्तान रोहितकुमार पौडेल, हुसेन तालत र किओन जोसेफले समान एक–एक  विकेट लिए । प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो भयो । उसले रु १० लाख पायो । त्यस्तै काठमाडौँ नाइट्स चौथो भयो । काठमाडौँले रु पाँच लाख पायो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?