एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको अन्तरले हराउँदै उपाधि जितेको छ ।
टस जिती पहिलो ब्याटिङ निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १४.५ ओभरमै अलआउट भई ३१ रनमात्र बनाउन सक्यो ।
पहिलो ब्याटिङ गरेको नेपालका लागि नरेन भट्टले सतकीय पाली खेले । उनले टोलीका लागि अविजित एक सय १२ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेनले केवल ८९ बलको सामना गरी दुई छक्का र १० वटा चौका हिर्काएका थिए । निरजकुमार यादवले पनि ४७ रन बनाए । ओपनर ब्याट्सम्यान निरजले ४९ बलको सामना गरी ६ चौका हिर्काएका थिए ।
सन्तोष यादवले पनि २९ बलमा दुई चौकाको मद्दतले २६ रन जोडे । ओपनर ब्याट्सम्यान सूयान्सु कोइराला १८ रनमा पेभेलियन फर्किए भने अशोक धामीले ११ रन बनाए । नेपालले अतिरिक्त रूपमा २६ रन पाएको थियो । मलेसियाका बलर मुहम्मद अक्रमले तीन विकेट लिए ।
त्यस्तै मलेसियाका लागि ब्याट्सम्यान मुहम्मद अक्रमले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सके । उनी १० रन बनाउँदै आउट भए । मलेसियाले अतिरिक्त रूपमा ६ रन पाएको थियो ।
नेपाली टोलीका बलर अभिषेख तिवारी एक्लैले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिएका थिए । सन्तोष यादवले पनि तीन विकेट हात पारे । उनले तीन ओभरमा दुई मेडन राख्दै नौ रन खर्चिएका थिए । सागर गैरेले पनि एक विकेट लिए । अशोक धामीले पनि एक विकेट हात पारे ।













